काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा करिब २ वर्षदेखि थन्किएको नागरिकता विधेयकको वैवाहिक अङ्गीकृत नागरिकतामा दलहरुबीच छलफलका आधारमा सहमति खोजिने भएको छ ।
पाँच दिनभित्र सहमति कायम गर्न हिजोको राज्य व्यवस्था समितिको बैठकले निर्देशनपछि औपचारिक तथा अनौपचारिक छलफल सुरु भएका छन् ।
सीआईएनसँग कुराकानी गर्दै काँग्रेस सांसद् डिला संग्रौलाले यसअघि कै वैवाहिक अङ्गीकृत नागरिकताको अभ्यासलाई निरन्तरता दिन आफ्नो पार्टीले माग गरेको भए पनि राष्ट्रियताको पक्षमा छलफल गरेर सहमति खोजिने बताउनुभयो ।
दलहरूबीच अरु विषयमा सहममति भए पनि वैवाहिक अङ्गीकृत नागरिकताको विषय फेरि पेचिलो बनेको छ । ५ भदौ २०७५ देखि नागरिकता विधेयक समितिमा विचाराधीन छ ।
समितिमा नेपाली पुरुषसँग विवाह गर्ने महिलाले ७ वर्षपछि मात्र नागरिकता पाउने प्रस्ताव संसद सचिवालयले गरेको छ । विगतमा भएका कमिकम्जोरीलाई सच्याउनका लागि सचिवालयको प्रस्ताव जायज रहेको नेकपाका सांसद रेखा शर्माले सीआईएनसँग बताउनुभयो ।
समितिले गरेको प्रस्तावमा मधेसवादी दलले शङ्का व्यक्त गरेका छन् । राजपाका नेता राजकिशोर यादवले सीआईएनसँग कुरागर्दै आफूहरु राष्ट्रियताको पक्षमा भए पनि यसबीचमा कुनै अमूक व्यक्त र शक्तिले चलखेल गर्न खोजेको आरोप लगाउनुभयो ।
गृहमन्त्री रामबहादुर थापाले नागरिकताको बारेमा राजनीतिक तहमा सहमति जुटाउन समय मागेपछि राज्य व्यवस्था समितिको बैठक ४ दिनपछि बस्नेगरी स्थगित गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७, १२:४७