पर्वत । गण्डकी प्रदेशका चार जिल्लामा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान दिएको जानकारी अनुसार बागलुङमा १४, कास्कीमा ६, पूर्वी नवलपरासीमा २ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशक एवम् प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार बागलुङको गल्कोट नगरपालिकामा ४५, ३८, ३५, ३०, २२ र १९ वर्षका पुरुष तथा ४२ र २० वर्षका दुई जना महिला गरी ८ जनामा संक्रमण देखिएको हो ।
बागलुङकै काठेखोला गाउँपालिकामा २४, २९, २२, २०, २३ र २९ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । डा. शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका एकजना पुरुष पनि संक्रमित छन् ।
पोखरामा संक्रमित १९ वर्षका २ जना र ४१ वर्षका एकजना पुरुष संगै ३० र ५६ वर्षीया २ जनामा महिलासमेत रहेका छन् ।
कास्कीकै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ । गण्डकी प्रदेशकै पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा २८ र २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुष र स्याङजाकै पालिका नखुलेका ६३ वर्षिय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएका सबै भारतबाट फर्किएका र सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ५३ पुगेको छ । ११ जिल्ला रहेको गण्डकीमा मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।
यसैबीच पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मी पनि कोरोनाबाट संक्रमित भएका छन् । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले आज एक विज्ञप्ति प्रकाशित गरी अस्पतालका ५ जना स्वास्थ्यकर्मी पनि कोरोना संक्रमित भएको जानकारी गराउनुभएको हो ।
काठमाण्डौँको टेकुस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिनुभयो ।
बिरामीको उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मी नै संक्रमित भएपछि पर्वत अस्पतालको ओपिड सेवा आज बिहानबाट बन्द गरिएको छ । इमेरजेन्सी सेवा भने निरन्तर सञ्चालन हु्ुने डा. देवकोटाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७, ०९:२६