काठमाडौं ।
मानो रोपेर मुरी फलाउने बेलामा देशभरका किसानलाई मलको हाहाकार भएको छ । हरेक वर्ष खेती लगाउने बेलामा किसानले व्यहोर्दै आएको मलको समस्या यो वर्ष पनि दोहोरिएको छ ।
रोपाई गर्ने बेलामा किसान मल खोज्दै बजार बजार भौतारिएका छन्, तर रित्तो हात फर्कनु परिरहेको छ ।
मलको अभावको विषयमा कृषि मन्त्रालय पनि जानकार छ । तर लकडाउनका कारण भारतको कलकत्ता र गुजरातमा मल रोकिंदा समस्या भएको मन्त्रालयको भनाइ छ ।
सीआईएनसँग कुराकानी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले रोपाईका लागि किसानलाई आवश्यक मल केही दिनभित्रै आइपुग्ने बताउनुभयो ।
केसीले भन्नुभयो, ‘मलको अभाव भएको भन्ने कुरा हो नै । लकडाउनको कारणले खासगरी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले ल्याउने मल कलकत्ता र गुजरातमा रोकिएका कारण मल निकै कम भएको छ ।’
अहिले सबैभन्दा बढि समस्या युरिया मलमा देखिएको छ । डिएपी भने अहिले कलकत्ताबाट केही मात्रामा भएपनि आइरहेको छ ।
कृषि मन्त्रालयका अनुसार करिब ७ हजार मेट्रिक टन डिएपी मल आइसकेको छ भने १५ हजार मेट्रिक टन आउने क्रममा छ । हप्ता दशदिनभित्र झन्डै २५ हजार मेट्रिक टन मल आइसक्ने मन्त्रालयको भनाइ छ ।
प्रवक्ता केसीले अगाडी भन्नुभयो, ‘धान रोप्नका लागि चाहिने मल डिएपी मल हो, र त्यो मल धेरै ठाउँमा पु¥याउने अवस्थामा हामी छौं । युरिया मल भनेको मकै गोड्नका लागि चाहिने हो, अहिले तत्कालै धेरै युरिया मल चाहिँदैन । धान रोप्दाखेरी युरिया मल नहालेपनि हुन्छ, धेरै चुहिएर जान्छ । तर किसानले सस्तो हुने भएर वा प्राविधिक जानकारी नभएर हो धेरै युरिया मल नै खोज्नुहुन्छ ।’
किसानले आवश्यकता भन्दा बढि युरिया मल माग गरेका कारण पनि मलको अभाव देखिएको भन्दै प्रवक्ता केसीले भन्नुभयो, ‘धान रोप्ने किसानहरूलाई मेरो अनुरोध छ, तपाईहरू डिएपी मल प्रयोग गर्नुस्, डिएपी मल आउँछ, आइरहेको छ र वितरण पनि भइरहेको छ ।’
मल थोरै आएर अभाव भएको हो कि, माग धेरै भएको ?भन्ने प्रश्नमा केसीले भन्नुभयो, ‘ गत आर्थिक वर्षको २÷३ महिनामा वितरण गर्नेजति मल हामीले यो २ महिनामै वितरण गरिसकेका छौं । मल थोरै आएको होइन, माग पनि बढेको छ । राम्रो कुरा के छ भने, अहिले धेरै किसानले बाँझो जग्गामा पनि खेती गरिरहनुभएको छ, त्यो हिसाबले पनि मलको माग बढेको छ ।’
किसानलाई मलको नहोस् भन्नका लागि सक्दो प्रयास भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७, ०९:३७