काठमाडौं । व्यापार सम्झौताका लागि ट्रम्पले चीनविरुद्ध प्रतिबन्धलाई रोकेको खुलासा भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौताको मध्यतिर रहेकोले सिन्जियाङमा मुस्लिमहरूलाई नियन्त्रणमा राखिएको विषयलाई लिएर चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध नलगाएको बताएका छन्।
वीवीसीका अनुसार ट्रम्पले ठूलो सम्झौता हासिल गर्नुको अर्थ आफूले अतिरिक्त प्रतिबन्धहरू नलगाउने भएको एक्सिओस न्यूजलाई बताउनुभयो ।
पुनर्शिक्षाका लागि र दण्डित गर्न भन्दै बेइजिङले सिन्जियाङमा करिब १० लाख उइगुर मुस्लिमहरूलाई नियन्त्रणमा राखेको छ। तर उनीहरूप्रति गलत व्यवहार गरिएको कुरा चीनले अस्वीकार गर्दै आएको छ।
ट्रम्पका एक सहयोगी तथा पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफूद्वारा लिखित नयाँ पुस्तकमा आरोपहरू लगाएपछि यो विषय बाहिर आएको हो।
चीनले उइगुर मुस्लिमप्रति गर्दै आएको व्यवहारलाई लिएर कतिपय अमेरिकी सरकारी निकायले खुला रूपमा आलोचना गर्दै आएका छन्।
विदेश मन्त्रालयले उइगुर मुस्लिमहरूप्रति दुर्व्यवहार गरिएको र उनीहरूलाई यातना दिइएको आरोप लगाउने गरेको छ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७, ०७:४४