काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका र उनको अवस्था गम्भीर भएकाले आईसीयूमा राखेर उपचार गरिएको अनि आज मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सबैभन्दा धेरै प्युठानमा ५० जना कोरोना संक्रमित थपिएका छन् । पाल्पाका ४८ जना, धनुषाका ३९, कैलालीका ३८, गोरखाका २९, सुर्खेतका २३, स्याङ्जा, नवलपुर, बझाङ र दैलेखका २२/२२ जना, पर्वतका २१, बाजुराका २०, दाङका १९, सप्तरी र धादिङका १८/१८ जना, कञ्चनपुरका १७, बाग्लुङका १४, रौतहटका १३, महोत्तरी र झापा १२/१२ जना कोरोना संक्रमित थपिएका छन्।
कास्की र तनहुँका ८/८ जना, सिराहा र अछामका ७/७ जना, सुनसरीका ६, लमजुङका ५, गुल्मीका ५, सल्यान र डडेलधुराका ४/४ जना, मोरङ, तेह्रथुम, अर्घाखाँची, सर्लाही र रुपन्देहीका २/२ जनामा पनि कोरोना देखिएको छ ।
रुपन्देही, कालीकोट, हुम्ला र पर्वतका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालका कुल कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ भने २२ सय २४ जना स्वस्थ छन् ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७, १७:४७