काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक दुई अध्यक्षको सम्वोधनसँगै आजका लागि सकिएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गर्नु भएको थियो ।
बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक ३ घण्टापछि सकिएको थियो ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकारले गरेका काम र पार्टीसँगको समुन्वयका विषयमा कुरा राख्नु भएको थियो । अध्यक्ष प्रचण्डले पार्टी अनुसार सरकार चल्न नसकेको विषयमा टिप्पणी गर्नुभएको थियो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले आज दुई अध्यक्षले सम्वोधन गरेपछि शुक्रबार अर्को बैठक बस्ने र सदस्यहरुले पनि विचार राख्ने गरि सकिएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अहिलेको परिस्थितिमा सकारात्मक काम गरिरहेको तर कुनैकुरा गलत भए सच्याउन तयार रहेको बताउनुभयो । उहाँले बाहिर आलोचना नगरि भित्र सच्याउनेगरि सुझाव दिन आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले दुईपार्टी एक भएरपछि कयौ सम्झौता पालना नभएको, असझदारीलाई झन बढाउनेगरि टिप्पणी भएकाले समस्या भएको सुनाउनुभयो ।
बैठकमा अध्यक्षद्वयको सम्वोधन, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठिनक एकताको पूर्णता, एमसीसी र विविधि गरि सातवटा एजेण्डा तय भएका छन् ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७, १५:४२