काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा २२ वटै पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ सय ३४ जना थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको बताउनुभयो ।
यस्तै प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा ३ सय १२ जना कोरोना सङ्क्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमित भएकामध्ये स्वस्थ हुनेको सङ्ख्या २ हजार ६ सय ५० पुगेको पनि उहाँले बताउनुभयो ।
रसुवा बाहेक सबै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ ।
यस्तै पाटन अस्पताल ललितपुरमा एक जना र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना गरि २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७, १७:०७