बारा । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा जस्तै देखिने फट्याङ्ग्राको एक प्रजाति बारामा फेला परेको छ ।
लाखौंको संख्यामा रहने र हरिया वनस्पती सखाप पार्ने उक्त प्रजाति बारामा फेला परेको कृषि ज्ञान केन्द्र बारा प्रमुख जितेन्द्र यादवले बताउनुभयो ।
सङ्घ सरकार अन्तर्गतको कृषि मन्त्रालय प्रकोप समितिका संयोजक सहदेव हुमागाईले नेपालमा सलह किराको प्रजाति देखिएको पुष्ठि गरेको उहाँले जानकारी दिनुभयो ।
किसानहरुले ठूलो संख्यामा किराहरु देखेको गुनासो गरेपछि ज्ञान केन्द्रका प्रमुख यादवले उक्त प्रजातिको तस्वीरसहित प्रकोप समितिमा जानकारी गराउनुभएको थियो ।
तस्वीरका आधारमा बारामा भेटिएको फट्याङ्ग्रा सलह नै भएको पुष्टि भए पनि कुन प्राजातिको हो भन्ने यकिन भइनसकेको ज्ञान केन्द्रका प्रमुख यादवले बताउनुभयो ।
हाल जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका तथा निजगढ नगरपालिकाका किसानले यस्तो प्रजाति देखिएको बताएका छन् । बारालगायत पर्सा र सर्लाहीमा पनि देखिएको जानकारी आफूले पाएको उहाँले बताउनुभयो ।
नेपालमा यो किराले बालीनाली नष्ट गर्नसक्ने भए पनि मनसुनी प्रभावका कारण यसकोे उत्पादन र वृद्धि हुने सम्भावना कम रहेको ज्ञान केन्द्र प्रमुख यादवको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७, १२:५०