सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योग रहेको क्षेत्रमा गएराती नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काँगे्रसका कार्यकर्ताबीचको झडपमा गोली चल्दा १५ जना भन्दा बढि घाईते भएका छन् ।
घाईतेहरुको जिल्ला अस्तपाल मलङ्गवामा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
झडप हुनुको वास्तविक कारण खुलिसकेको छैन । घटनामा संलग्नमध्ये एक जनालाई राती नै नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य छ । धनकौल क्षेत्रमा चिनी मिलको भुक्तानिको विषयमा नेकपा र काँगे्रसका कार्यकर्ताबीच पटक–पटक विवाद भइरहेको छ ।
पछिल्लो पटक एक साताअघि सर्लाहीकै रामगनर गाउँपालिकामा नेकपाका एक कार्यकर्ताको हत्या भएपछि सो घटनालाई राजनीतिकरण गरी नेकपा र काँग्रेस कार्यकर्ताले एक अर्काविरुद्ध आन्दोलन गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७, ०७:३६