काठमाडौँ । ललितपुरको स्टार अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको जम्मा सङ्ख्या २९ पुगेको छ ।
रौतहटका २९ वर्षीय एक पुरुषको अस्ति राति उपचारका क्रममा मृत्यु भएको थियो । ललितपुर स्वास्थ्य कार्यालयका अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट आज बिहान आएको र कोरोना पुष्टि भएको कार्यालयका प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो ।
अहिले मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय प्रमुख गेलालले बताउनुभयो ।
यसैबीच गण्डकी प्रदेशमा थप २६ जना पुरुष कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासीका २६ पुरुष घर फर्किएका हुन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र केन्द्रबाट आइतबार थप २६ जना पुरुष डिस्चार्ज भएपछि गण्डकी प्रदेशमा कोभिड १९ संक्रमण जितेर घर फर्कनेको संख्या १ सय ९८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त जानकारी अनुसार गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८९६ पुगेको रेडियो हेमजा, कास्कीले जनाएको छ ।
रेडियो नागरिक, बाराका अनुसार बारामा सुवर्ण गाउँपालिका वडा नम्बर ४, करैयामाई गाउँपालिका–१ र कलैया उपमहानगरपालिका–७ मा गरी १२ जना संक्रमित थपिएका छन् ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले संक्रमित हुनेमा तीन जना क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मीसमेत रहेको बताउनुभयो ।
थपिएका सबै संक्रमितलाई कलैयास्थित अस्थाई कोरोना अस्पतालको आईसोलेसनमा राखिएको उहाँले जानकारी दिनुभयो । यससँगै जिल्लामा संक्रमित हुनेको संख्या एकसय २० पुगेको छ । जसमध्ये १९ जना संक्रमितको उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७, १२:१०