काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई घेराबन्दीमा पारेर पल्लो छेउमा धकेलिएको बताउनु भएको छ । केही नेता तथा मन्त्रीहरूसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई बलियो बनाउन खोज्दा आफुमाथि आक्रमण भएको गुनासो गर्नुभयो । स्थायी कमिटीमा आफ्नो राजीनामा मागिएको र आफुलाई घेराबन्दीमा पारिएकाले सल्लाह गर्न तपाईहरुलाई बोलाएको हुँ भन्दै प्रधानमन्त्रीले भनाई राख्न सुरु गर्नु भएको थियो ।
उहाँले सरकारले जे काम गर्दा पनि गलत देख्ने र आफुलाई कमजोर बनाउन विरोधका लागि विरोध गर्ने परम्पराले पार्टी र सरकार कमजोर भएको टिप्पणी गर्नुभयो । मन्त्रीहरुले प्रधानमन्त्रीलाई सजिलो हुन्छ भने आफुहरु राजीनामा दिन तयार भएको तर पार्टी एकता जोगाउनुपर्ने सुझाव दिएका थिए ।
स्थायी कमिटीको निर्णय मान्दै सबैलाई समेटेर अगाडी बढन मन्त्रीहरुको सुझाव थियो । माधव कुमार नेपाल निकट मानिने मन्त्री धनश्याम भूषाल र यागेश भट्टराइइले राजीनामा दिन तयार रहेको बताउनुभयो ।
स्थायी कमिटीको बैठकमा राजीनामा दिनुपर्ने विषय उठेपछि राजनीतिक परामर्शका लागि प्रधानमन्त्रीले मन्त्रीहरूलाई बालुवाटार बोलाउनुभएको थियो । प्रधानमन्त्रीसँगको छलफलका लागि ८ बजे बोलाएपनि मन्त्रीहरू बिहान ७ बजे नै बालुवाटार पुगिसकेका थिए ।
स्थायी कमिटीको हिजोको बैठकमा ५ सचिवालय सदस्यसहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले आफू निकट नेताहरूसँगको छलफललाई तिव्रता दिनुभएको हो । हिजो साँझ पनि प्रधानमन्त्रीले आफू निकट नेताहरूसँग छलफल गर्नुभएको थियो ।
बैठकमा पूर्व माओवादीका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि छलफलमा सहभागी हुनुहुन्थ्यो । स्थायी कमिटी बैठकमा केही पनि नबोल्नु भएका रक्षामन्त्री ईश्वर पोखरेर बिहानको बैठकमा पनि बोल्नु भएन ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७, १३:०२