बारा । आज विहान वर्षासँगै परेको चट्याङ लागेर बाराका विभिन्न स्थानमा चारजनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार अन्य सात जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षीय आशादेवी महतो, ४५ वर्षीय हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ की ३० वर्षीय इन्दुदेवी महतो र ४० वर्षीय सुनारपतीदेवी महतो रहनुभएको छ ।
खेतमा धान रोपिरहेका बेला अचानक परेको चट्याङ लागेर घटनास्थलमै उनीहरूको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा कलैयामा राखिएको उहाँले बताउनुभयो ।
घाइते भएका फेटा गाउँपालिकाका अन्य सातजनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको छ ।
विहानैदेखी मौसममा आएको परिवर्तनका कारण पुनः चट्याङको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७, १२:३५