काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी( नेकपा)विभाजनको संघारमा पुगेको छ । स्थायी कमिटीले प्रधानमन्त्रीलाई राजीनामा दिन निर्देशन दिने, तर ओलीले राजीनामा नदिने स्पष्ट भएपछि नेकपा नयाँ मोडमा पुगेको छ । नेकपा भित्रको विवाद मिलाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिनभर प्रयास गर्नुहुने भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अरु नेतासँग पनि प्रचण्डले बिहानैदेखि छलफल गर्ने तयारी गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
ओलीको अनुपस्थितिमा हिजो बसेको स्थायी कमिटि बैठकमा प्रचण्डले पार्टी फुट र थप एकताको सङ्घारमा पुगेको भन्दै आज दिनभर एकताका लागि कोसिस गर्न समय माग्नुभएपछि भोलिसम्मका लागि स्थायी कमिटिको बैठक स्थगित गरिएको छ ।
अनौपचारिक सहमति विपरित प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेपछि नेकपामा कतै ओलीले राजनीतिक दल फुटाउनका लागि अध्यादेश ल्याउन त लाग्नुभएको हैन ? भन्ने शंका बढेको छ ।
प्रधानमन्त्री ओलीसँग नेकपाका अर्का अध्यक्ष प्रचण्डले यसबारेमा जिज्ञासा राख्दा ओलीले २/३ दिनसम्ममा अध्यादेश नआउने जानकारी गराएपछि लगतै शीतल निवासमा पुगेर प्रचण्डले राजनीतिक दलसम्बन्धी अध्यादेश आएमा हतारमा प्रमाणिकरण नगरिदिन आग्रह गर्नुभएको छ ।
निकास निकाल्न हिजो बिहीबार दिनभर प्रयास भए । स्थायी कमिटीको बैठक बालुवाटारमै बसे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बैठकमा सहभागी हुनु भएन ।
प्रधानमन्त्रीले एक कदम अगाडि बढेर संसद्को अधिवेशन नै अन्त गराएपछि स्थायी कमिटीले आफ्नो सम्भावित निर्णय स्थगित गरेको छ । एकता बचाउन आज प्रयास गर्ने र भोलि शनिबार निर्णय गर्ने नेकपाको तयारी छ ।
पार्टी विवादलाई संवैधानिक मोड दिएका ओलीले आफ्नो अडान भने कायमै राख्नुभएको छ । स्थायी कमिटीमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने राजनीतिक, नैतिक र अंकगणितीय दबाब भए पनि प्रधानमन्त्री ओलीले संसद अन्त्य गरेर टकरावमा जाने सन्देश दिनु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७, ०६:४३