काठमाडौँ । नेकपाका दोस्रो तहका नेताहरुले पार्टीको विवाद चर्किने गरी कुनै पनि गतिविधि नगर्न शीर्ष नेतृत्वसँग अनुरोध गरेका छन् ।
कृषि मन्त्री घनश्याम भुसालको सरकारी निवास पुलचौक ललितपुरमा आज बिहान बसेको नेकपाका दोस्रो तहका नेताहरुको बैठकले पार्टी एकतालाई जोगाइ राख्नका लागि हर प्रयास गर्न शीर्ष नेतालाई आग्रह गरेको हो ।
मन्त्री भुसालको संयोजनमा आयोजना गरिएको छलफलमा पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका गरी ११ जना नेताको सहभागिता रहेको थियो ।
बैठकमा ओली पक्षका नेताहरु विष्णु रिमाल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा र नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईको सहभागिता थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्ष नेताहरुलाई आग्रह गर्ने निर्णय भएको छ ।
काठमाडौँ लगायत मुलुकका बिभिन्न स्थानमा अध्यक्ष ओलीको समर्थनमा प्रदर्शन हुन थालेपछि दोस्रो तहका नेताको बैठकले आफ्नो समूहका सबै गतिविधि सभ्य र नियन्त्रित बनाउन आग्रह गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७, १२:४८