घनश्याम भुसाल
पहिलो विश्वयुद्धसम्म आइपुग्दा पुँजीवादको विकास एक हिसाबले चरममा पुगेको थियो । युरोपमा पुँजीपतिहरूले त्यतिवेला पोस्टर छापेर वितरण गर्थे । त्यसमा लेखिएको हुन्थ्यो– हत्यारा हुन्, तिनीविरुद्ध उठ, जाग अब रक्तपातका लागि तयार होऊ । तर, त्यो को हो भन्ने ठाउँ खाली राखिएको हुन्थ्यो । जर्मनहरूले खाली ठाउँमा ‘फ्रेन्च’ भर्थे, फ्रेन्च हत्यारा हुन्, तिनीविरुद्ध उठ भन्ने सन्देशसहित पोस्टर वितरण गर्थे । उता फ्रेन्चहरूले त्यही खाली ठाउँमा ‘जर्मन’ थपेर जर्मनहरू हत्यारा हुन्, तिनीहरूविरुद्ध रक्तपातका लागि तयार होऊ भनेर आह्वान गर्थे ।
दुवैतर्फका मान्छेले एउटै पोस्टर किन्थे र खाली ठाउँ भरेर वितरण गर्थे । दुवैतर्फ उन्माद फैलिन्थ्यो, तर पोस्टरको पैसा एकैठाउँ जम्मा हुन्थ्यो । यसरी प्रचार तीव्र बनाएर उन्माद फैलाएर मान्छेलाई एक–अर्काविरुद्ध युद्धका लागि तयार गरिएको थियो । आज नेकपामा ठ्याक्कै यही भएको छ । खाली ठाउँ भएको पोस्टर आएका छन्, तपाईंहरूले एक–अर्काको नाम भरेर प्रचार गरिरहनुभएको छ ।
प्रधानमन्त्रीलाई समाप्त गर्न लागे, राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन थाले, अब अन्तिम प्रतिरोध गरौँ भनेर तपाईं लाग्नुभएको छ । तपाईंको यो चिन्ता थाहा पाएपछि मैले अर्को पक्षबाट पनि यो विषय पुष्टि गर्न खोजेँ । जसले भन्यो भनियो, त्यही मान्छेलाई पनि मैले भेटेँ, त्यस्तो कुनै तयारी छैन भन्ने आयो । तर, दुवैतर्फका सूचनाले हामीलाई बहकाएका छन् । हामी लड्न तयार भइरहेका छौँ । उन्मादबाट बचौँ भन्ने हाम्रो अनुरोध छ । नयाँपत्रिका दैनिकबाट
प्रकाशित मिति: आइतबार, असार २१, २०७७, ०७:५८