नेकपा भित्रको शक्तिसङ्घर्षले पार्टी विभाजनको सङ्घारमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक मात्र होइन, संवैधानिक शक्ति प्रयोग गर्ने स्पष्ट सन्देश दिनु भएको छ ।
राष्ट्रपति विद्या भण्डारीलाई भेटेलगत्तै प्रधानमन्त्री ओलीले हिजो (शनिबार) साँझ ७ देखि सवा ८ बजेसम्म मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर छलफल गर्नुभयो । मन्त्रीहरूलाई ‘मलाई साथ दिने कि नदिने ? मेरो नेतृत्वमा विश्वास छैन भने कित्ता रोजेर जान सक्नुहुनेछ ’ भन्दै निर्देशन र चेतावनी दिएपछि यसले नयाँ सङ्केत गरेको छ । मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्रीले के के भन्नुभयो ? भूमि व्यवस्था, सहकारी तथा गरिबी निवाबरण मन्त्री पद्मा अर्यालसँग सीआईएनले गरेको कुराकानीः
अकस्मात बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले तपाईहरूसँग के भन्नुभयो ?
‘पार्टीमा केही असमझ्दारी देखिएका छन् । अब अन्तिमसम्म पार्टी एकताका लागि पहल गर्नु पर्छ । आन्दोलनको रक्षा गर्नुपर्छ । तपाईँ मन्त्रीहरू पनि यो या त्यो गुटमा लाग्ने, प्रकट हुनेभन्दा पनि पार्टी एकताको पक्षमा लाग्नूस्, उभिनूस, पहल गर्नुस् । ’ भन्ने नै हो उहाँको निर्देशनको आशय ।
कस्ता असमझदारि देखिएका रहेछन् पार्टी भित्र ?
समस्या भयो । पार्टीभित्र तपाईँहरू पार्टी एकताको पक्षमा नेताहरूलाई सम्झाइबुझाइ गर्ने पक्षमा लाग्नूस् भन्नुभयो । गुटबन्दीलाई प्रोत्साहित नगर्ने गरी प्रस्तुत हुनूस् भन्नुभयो ।
म अन्तिमसम्म पार्टी एकताकै निम्ति, आन्दोलनकै रक्षाको निम्ति लाग्छु भन्नुभयो । तपाईँहरूले पनि त्यही हिसाबले पहल गर्नुस भन्ने हो उहाँको ।
तपाईँहरूसँग भेट्नुभन्दा अघि नै शितल निवासबाट प्रधानमन्त्री फर्किनु भएको थियो । त्यस बारेमा पनि केही जानकारी दिनुभयो ?
त्यस्तो केही भन्नु भएन । अहिले ठ्याक्कै धेरै छलफल पनि होइन । ‘मैलै अब मन्त्रिपरिषद्का सदस्यहरूलाई केही जानकारी गराउँ, केही अनुरोध गरौँ भनेर बोलाको हो । तपाईँहरू पार्टी एकता गराउने कुरामा भूमिका खेल्नूस्’ भन्नुभयो ।
राष्ट्रपति र आफ्नो बारेमा महाअभियोग लगाउने तयारी भइरहेको भनेर प्रधानमन्त्रीले ‘मैले आवश्यक निर्णय र कदम चाल्नु पर्छ ।’ भन्नुभो हैन ?
वास्तवमा के भाछ भने नि अलिकति पार्टीभित्र समस्या देखिइसकेपछि स्वभावैले विभिन्न तत्वहरूले खेल्ने काम भैरहन्छ । त्यसैले दुवै तर्फ कैले के कैले के भ्रमहरू सिर्जना गर्ने अविश्वास खडा गर्ने काममा पनि एउटा तत्व सक्रिय नै छ ।
कतिपय घटनाक्रमहरू नमिलिसकेको सन्र्दभमा केहीकेही सत्यतामा आधारित भएर पनि अगाडि बढ्छन् । हिजो सम्माननीय प्रधानमन्त्रीज्यूले विशुद्ध रूपमा मन्त्री परिषद्का सदस्यहरूलाई पार्टी एकताकै पक्षमा उभिन आफ्नो पहलकदमी लिनको निम्ती नै आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिको विरुद्धमा महाअभियोग ल्याउने तयारी भइरहेको छ भन्ने बारेमा सूचना आएको बताउनुभयो हैन तपाईहरूसँग उहाँले ?
यस्तो हल्ला पनि सुनियो भनेर भन्नुभा छ । ती साँचो कुरा के हो भन्ने कुरा अनुसन्धान भैराछन् । अब अहिले ठ्याक्कै प्रमाणित रूपमा यही हो भन्ने नहुँदासम्म केही बोल्ने कुरा पनि भएन ।
राष्ट्रियताका पक्षमा उभिँदा आक्रमण भयो भनेर सार्वजनिक रुपमा अघि आउनु भएका प्रधानमन्त्री ओलीले पार्टी विवादमा राष्ट्रपतिलाई जोड्नु भएको छ । नक्सा जारी गरेको कारण भारतले हटाउन खोजेको भन्दै उहाँले भनेको केही दिनमा पार्टीको विवाद झन उत्कर्षमा पुगेपछि राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन खोजिएको भन्नु भएको छ ।
उहाँले भनुुभएको छ ‘मलाई दुवै पदबाट हटाउने मात्र होइन, राष्ट्रपतिलाई पनि महाअभियोग लगाउने प्रयास भइरहेको छ, त्यसैले म आत्मसमर्पण गर्दिनँ ।’ के त्यस्तै तयारी हो ? सीआइएनको प्रश्नमा प्रचण्ड नजिक मानिने स्थायी कमिटि सदस्य हरिबोल जगुरेल भन्नुहुन्छः
त्यस्तो त मलाई थाहा छैन । हैन माहाअभियोग कल्लाई, कललाई माहाअभियोग ?
राष्ट्पतिको विरुद्धमा ?
होइन । त्यो होइन, पक्का होइन । अध्यक्ष प्रचण्डको प्रष्ट धारणा के हो भने विद्यादेवी भण्डारी राष्ट्रपतिलाई हटाउने उहाँको कुनै मनशय छैन । त्यो योजना पनि भएको छैन । छलफल पनि भएको छैन ।
पार्टी एकताका लागि भइरहेको पछिल्लो प्रयासको प्रगति के छ ?
उतारचढाव मै छ । हिजो अब मन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्रीले के विषय राख्नु भो । त्यसले के हो, के हो भन्ने पारेको छ । दुईटा अध्यक्षबीच छलफल चलिरहेको छ ।
त्यो हिसावले हेर्दा केही एकता कायम रहन्छ भन्ने देखिन्छ । फेरि कैयौँ चिजहरूले आशङ्का पनि पैदा गरेका छन् । एकताको पक्षमा सबै जनता, कार्यकर्ता, नेता सबै भएको हुनाले फुट हुदैन भन्ने मलाई विश्वास छ ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७, ०८:०७