काठमाडौं । पार्टी नेतृत्वलाई एकताका लागि मिल्न देशभरी नेता कार्यकर्ताले दवाव अभियान सुरु गरिरहेका बेला हस्ताक्षर अभियान पनि सुरु भएको छ ।
नेकपाको आन्तरिक विवाद समाधान गर्न नेतृत्व असफल हुँदै गएको भन्दै केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ ।
उच्चतहका कमिटी असफल भएको भन्दै नेताहरुले केन्द्रीय कमिटी बोलाउन हस्ताइार अभियान संकलन गरेका छन् । हस्ताक्षर संकलन गर्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका नेताहरु रहेका छन् ।
सदस्यहरू डा विजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायतले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
नेतृत्व असफल हुँदै गएको भन्दै उनीहरूले विधिसम्मत ढंगले छलफल गरेर केन्द्रीय कमिटी बैठकले नै एकता जोगाउने दाबी गरेका छन् । ।
अहिलेसम्म करिब ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरिसकेको केन्द्रीय सदस्य गैरेले जानकारी दिनुभयो । गैरेका अनुसार बहुमत सदस्यहरुको हस्ताक्षार संकलन भएपछि नेतृत्वलाई बुझाईनेछ ।
केन्द्रीय कमिटी बैठक ६ महिनाको अन्तरमा बस्ने वैधानिक व्यवस्था छ । पार्टी एकता भएयताको दुईबर्षमा जम्मा एकपटक मात्रै बैठक बसेको छ ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७, ०७:०८