काठमाडौँ । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ उडान कर्मचारीमा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये ११ जना भने क्याविन क्रु रहेको निगम स्रोतले जनाएको छ। कोरोना पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा बसेका छन्र ।
कोभिड १९ का कारण बिभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई घर फर्काउने अभियानमा नेपाल वायु सेवा निगमले ४ विमान उडाउँदै आएको थियो ।
एउटा विमानमा चरा ठोकिएर ग्राउण्डेड भएपछि हाल तीनवटा विमान निगमले उडाउँदै आएको छ ।
पर्यटन मन्त्री योगेश भट्टराईले पनि केही पाइलटमा कोरोना देखिएको पुष्टि गर्दै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री भट्टराईले लेख्नुभएको छ, ' नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल वयुसेवा निगमका चालक दलका केही सदस्यमा कोरोनाको सङ्क्रमण देखिएकोमा दु:ख लागेको छ । सङ्कटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'
प्रकाशित मिति: सोमबार, असार २२, २०७७, १५:२७