काठमाडौं । नेपाली काङ्ग्रेसले महाधिवेशन गर्ने मुख्य मिति कायम राखेर कार्यतालिका हेरफेर गरेको छ । आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित समयमा नै पार्टीको १४ औँ महाधिवेशन गर्ने निर्णय भएको छ । समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ ।
महाधिवेशन यसअघिको घोषणाजस्तै आगामी ७ देखि १० फागुनसम्म गर्ने गरी तल्लो तहको अधिवेशनको समय परिमार्जन गरिएको हो ।
काङ्ग्रेसको हिजो सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही असार २५ गतेदेखि साउन मसान्तसम्म तोक्ने निर्णय गरेको हो ।
गाउँनगर वडा अधिवेशन पुस ६ गते, गाउँनगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते गरिसक्न परिपत्र गर्दैछ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंँमा गर्ने निर्णय गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७, ०७:१३