काठमाडौँ । समाजवादी पार्टीले नेता सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेसँगै उहाँ सांसद पदबाट मुक्त हुनुभएको छ ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले सीआईएनसँग बताउनुभयो ।
गिरीले भने पार्टी निर्णयविरुद्ध अदालत जाने बताउनुभएको छ । अनुशासनको कारबाही गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको उहाँको भनाइ छ ।
भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसारको निशान छाप बनाउन गरिएको संविधान संशोधनका लागि संसदमा भएको मतदान गिरीले बहिष्कार गर्नुका साथै पार्टी निर्णय विपरीत संविधान संशोधन विधेयकविरुद्ध संशोधन दर्ता गर्नुभएको थियो ।
पार्टी ह्विप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीको संसदीय दलले कारवाहीको सिफारिस गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७, २०:५२