काठमाडौं । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ । सुरक्षाको मापदण्ड अपनाएर यातायातका साधन चलाउने तयारी भइरहेको सरकारले जनाएको छ । मङगलबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न निर्देशन दिइसक्नु भएको छ । एक सिटमा एक यात्रु, माक्स, स्यानिटाइजरको ब्यवस्थासहित सबै विकल्पहरु राखेर सार्वजनिक यातायात चलाउने मापदण्ड बनाइदैछ ।
त्यसका आधारमा यसै महिनाको अन्त्यमा निर्णय हुनेछ । लकडाउन अझै लम्बिने, तर सार्वजनिक यातायात नचल्दा सर्वसाधारण समस्यामा परेपछि सञ्चालन गर्न लागिएको हो ।
ट्याक्सीमा एकजना मात्र यात्रु राख्ने गरी सञ्चालन गर्न दिने तयारीबारे पनि छलफल भइरहेको छ । यातायात व्यवसायी तथा ट्याक्सीचालकहरूले सार्वजनिक यातायात चलाउन दबाब दिँदै आएका छन् ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७, ०६:३३