काठमाडौँ । बन्दाबन्दी अर्थात लकडाउनका बेलाको समेत शुल्क उठाएको वा मागेको भनेर नेपालमा निजी विद्यालयको विरोध तथा आलोचना भइरहेको बेलामा भारतको एक विद्यालये भने वर्षभरि नै शुल्क नलिने घोषणा गरेको छ ।
भारतको कालिङपोङमा रहेको सेन्ट अगस्टिन्स विद्यालयले यो वर्ष विद्यार्थीसँग वार्षिक शुल्क र चार महिनाको छात्रावास शुल्क नलिने घोषणा गरेको हो ।
विद्यालयको यो निर्णयबाट त्यहाँ अध्ययनरत १८ सय विद्यार्थी लाभान्वित भएका छन् । विद्यालयले कक्षा दुईसम्म १५ हजार २०० रुपैयाँ र कक्षा ११ र १२ को २१ हजार ६०० रुपैयाँ वार्षिक शुल्क लिँदै आएको थियो ।
विद्यालयले एक सूचना जारी गर्दै सबै विद्यार्थीसँग चार हजार रुपैयाँ ‘मर्मत सम्भार शुल्क’ मात्र लिने जनाएको छ । यो विद्यालयले यही असार १७ बाट अनलाइन कक्षा सुरु गरेको छ ।
कोभिड–१९ लाई मध्यनजर गरेर अप्रिल, मे, जुन र जुलाईको छात्रावास शुल्क पनि छुट दिने निर्णय विद्यालयले गरेको छ । मासिक होस्टेल शुल्क १५ हजार २०० रुपैयाँ छ ।
छात्रावासमा नेपालसहित भुटान, बङ्गलादेश, थाईल्याण्ड, बेलायत, युएई र केही अफ्रिकन देशका विद्यार्थी रहेको टेलिग्राफले उल्लेख गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७