काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यक्तिगत स्वार्थलाई त्यागेर प्रहरी सङ्गठनको हितका लागि नीति तथा कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभएको छ । सङ्गठनको श्रीवृद्धिका लागि सम्पूर्ण प्रहरी कर्मचारीको सहयोग र सक्रियता आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यस्तो बताउनुभएको हो ।
समस्याबाट भागेर होइन समस्यासँग जुधेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्दै क्षेत्रीले वर्तमान अवस्थामा नेपाल प्रहरी सामु रहेका विविध चुनौतिहरु समाधानका लागि सबै प्रहरी कर्मचारीहरुलाई पूर्ण सहयोगीको रुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।
आउँदा दिनमा कुनै पनि प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन ऐन कानुनमा निर्दिष्ट एवम् वरिष्ठता तथा तथ्याङ्कको आधारमा हुने उहाँको भनाइ छ । 'सबै प्रहरी कर्मचारीहरुले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्छ। त्यसका लागि सुपरीवेक्षण तहमा खटिने प्रहरी अधिकृतसमेतले उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ ।' निर्देशन दिँदै उहाँले भन्नुभयो ।
प्रहरी, प्रहरी जस्तै हुनुपर्छ तर विनम्र पनि हुनुपर्ने हुन्छ भन्ने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो व्यवहारलाई सुधार गर्दै सङ्गठनको सुधारका लागि ऐन, नियमको परिधिमा रहेर सबै प्रहरी कर्मचारीहरु एक्यबद्ध भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।
क्षेत्रीले कार्यालय प्रमुखहरुले आफ्नो मातहतका प्रहरी कर्मचारीहरुको दैनिक कार्य संचालन तथा वृत्ति विकासप्रति संवेदनशील हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सङ्गठनले लिएको उद्देश्य पूरा गर्न प्रत्येक प्रहरी कर्मचारीहरु मानसिक एवम् शारीरिक रुपमा स्वस्थ्य हुनुपर्ने उल्लेख गर्दै व्यावसायिक रुपमा व्यस्त भए पनि आफ्नो परिवारलाई समय दिन सकेमा प्रहरी कर्मचारीहरु मानसिक रुपमा स्वास्थ्य हुनसक्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
देश र नागिरकका खातिर आफ्नो कर्तव्य पालनाको शिलशिलामा जीवन उत्सर्ग गर्नुहुने वीर अमर प्रहरीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको शिलशिलामा घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको हितका लागि अग्रज प्रहरीहरुले निर्वाह गरेको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७