पर्वत । पहिरोमा परेर कास्की र लम्जुङमा गरी ९ जनाको मृत्युभएको छ । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीमा पहिरोले घर पुरिँदा ५ जनाको मृत्यु भएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार हेम्जामा पनि एकजनाको मृत्यु भएको छ । साराङकोटका टंकबहादुर थापाको घर पहिरोमा पुरिएको छ । त्यहाँ ८ जना घाइते भएका छन् ।
उनीहरूको उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते हुनुभएको छ । कास्कीका अरु क्षेत्रमा पनि बाढी, पहिरो र डुबानले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
यसैबीच लमजुङको बेसीशहर नगरपालिका ७ का ३२ वर्षिय दीपक तामाङ, २६ वर्षिय विमाया तामाङ र ९ वर्षिय छेवाङ तामाङको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
लम्जुङको बेसीसहर नगरपालिका ७ सातबिसेमा पहिरोमा घर पुरिँदा करिब ३० वर्षीय दीपक तामाङ, २५ वर्षीय बिमाया गुरुङ र ८ वर्षीय छेवाङ तामाङको मृत्यु भएको र पहिरोमा परी घाइते भएका ३ जनाको लम्जुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वर्षा निरन्तर भैरहेपनि पर्वत र बागलुङमा अहिलेसम्म केही क्षति नभएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुले जनाएका छन् । तनहुँ, स्याङजा, गोरखा, मुस्ताङ, मनाङ र नवलपुर जिल्लामा भएको क्षतिको विवरण प्राप्त हुन नसकेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७, ०९:०३