राकेश शर्मा, रेडियो म्याग्दी, म्याग्दी । हिजोदेखिको लगातारको वर्षासँगै म्याग्दीको विभिन्न ठाउँमा पहिरो जाँदा ९ जना वेपत्ता भएका छन् । ५ वटा घर पहिरोले बगाएको छ ।
धवलागिरी गाउँपालिका–६ मराङको रिखामा ७ जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका ७ जना वेपत्ता भएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको हो । भीमप्रसादको घरमा ४ र धनबहादुरको घरमा ३ जना थिए ।
धनबहादुर घाइते हुनुभएको वडा सदस्य लोकबहादुर पुनले जानकारी दिनुभयो । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको वडा सदस्य पुनले बताउनुभयो । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् ।
मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले सोमनाथ पौडेलको घर बगाउँदा २ जना वेपत्ता भएका स्थानीय थमन जुग्जालीले बताउनुभयो ।
पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पुर्याएको छ । मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुईवटा घर बगाएको छ ।
वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिनुभयो । घरका मानिसहरुले भागेर ज्यान जोगाएका छन् ।
भाग्ने क्रममा १ जना घाइते भएका छन् । वेपत्ता भएकाको उद्धारको लागि प्रहरीको दुई टोली घटनास्थलमा जाँदैछ । मौसम केही खुलेमा हेलीमार्फत् उद्धारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।
उहाँका अनुसार अझै केही दिन अविरल वर्षा हुने पूर्वअनुमान गरिएसँगै म्याग्दीमा उद्धारको लागि टोली तयारी अवस्थामा राखिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा ९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले बगाएको छ ।
बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सीधा यातायात सम्पर्क बन्द भएको छ । मोटरेबल पुल नजिकै रहेको झोलुङ्गे पुलसमेत जोखिममा छ ।
पुल नजिकैको २० घर परिवारलाई रघुगंगा गाउँपालिकाले राहतको व्यवस्था गर्ने जनाएको छ ।
विस्थापित हुने अवस्थाका २० घरपरिवारको लागि तत्काल गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट सहयोग गरिने गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । अविरल बर्षाले म्याग्दीका विभिन्न ग्रामीण सडकसमेत अवरुद्ध गरेको छ भने दजनौँ बस्ती जोखिममा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७