काठमाडौँ । गएको बुधवार रातिदेखिको लगातारको वर्षा, बाढीपहिरोले अरनिको राजमार्ग अन्तर्गत विभिन्न ११ स्थानको सडकमा क्षति पुर्याएको छ ।
तत्कालका लागि एम्बुलेन्स सुचारु गर्नका लागि सरोकारवाला निकायबीचमा छलफल भएको छ ।
सभामुख अग्नि सापकोटाले बोलाउनु भएको उक्त छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बाटो खुलाउने काम सुरु गरिसकिएको जानकारी दिँदै कामका शिलशिलामा स्थानीयस्तरमा आउनसक्ने अप्ठेरोमा सहजीकरण गरिदिन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
सडक विभागका महानिर्देशक केशव कुमार शर्माले अरनिको राजमार्ग अन्तर्गत जुरेदेखि तातोपानीसम्म ११ ठाउँमा ठूलो क्षति भएको जानकारी दिँदै खागदल, झ्याले र डाकलाङमा गरी कम्तिमा तीनवटा बेलिब्रिज बनाउनुपर्ने प्रारम्भिक प्रतिवेदन आएको बताउनुभयो ।
स्थानीय तहहरुसँग भएका स्काभेटरहरु प्रयोग गरेर अबरुद्ध बाटो खुलाउन विभागले प्राविधिक सहयोग गर्ने भएको छ ।
भोटेकोसीको बाढीपछि बाह्रविसे नगरपालिकाको आधा भूगोल र भोटेकोसी गाउँपालिकाको पूरै भूभाग सडक सञ्जालबाट टुटेका कारण अवरुद्ध सडक खुलाउने बारेमा हिजो सभामुखले छलफल गर्नुभएको उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असार २७, २०७७