पर्वत । म्याग्दीका तीन गाउँपालिकामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।
धौलागिरी गाउँपालिका, मालिका गाउँपालिका र रघुगंगा गाउपालिकामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या हालसम्म २७ पुगेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
ढकालका अनुसार धौलागिरी गाउँपालिका वडा नम्बर ६ मराङका १८ जना, मालिका गाउँपालिका वडा नम्बर ७ बिमका ८ जना र रघुगंगा गाउँपालिका वडानम्बर –६ ठाडाखानीमा १ जनाको शव भेटिएको छ ।
मालिका गाउँपालिका ७ विमकी बिष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, बिष्णु नेपाली, सन्दिप नेपालीको पहिरोमा पुरिएर मृत्यु भएको छ । लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको पनि मृत्यु भएको छ ।
धौलागिरी गाउँपालिका –६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरामती जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको पनि पहिरोमा परेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।
मराङको रिखको पहिरोका कारण वेपत्ता ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली भने सम्पर्कमा आउनुभएको छ ।
पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरी–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा वेपत्ता भएकी मालिका–६ की गिता रोकाको अवस्था पत्ता लाग्न नसकेको प्रहरी नायव उपरिक्षक किरण कुँवरले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार पहिरोको जोखिममा रहेका धवलागिरी गाउपालिकाका ५ सय ९०, मालिकाका १ सय ९६, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
पहिरोमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्दार गरिएकोमा ७ जनाको बेनी अस्पताल म्याग्दी, १ जनाको काठमाडौँ र ४ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको छ ।
पहिरोका कारण थप क्षति हुने भएकाले विशेष सतर्कता अपनाउन म्याग्दी प्रसासनले अनुरोध गरेको छ । पहिरो प्रभावित क्षेत्रमा सडक सञ्जाल टुटेको छ । वस्तीहरुमा पानीको पाईप बगाउँदा खानेपानीको समस्या देखिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७, ०७:४६