ध्यान कुलुङ, खाँदबारी एफएम, सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा झरेको पहिरोले ७ घर बगाएको छ ।
पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् भने ३ जनालाई स्थानीयले उद्धार गरेका छन् । लगातारको वर्षापछ गएराति झरेको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँको बस्ति बगाएको हो ।
अहिले विहान घटनास्थलतर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
सिसुवाटार प्रहरी चौकीबाट ५ र ताम्कु प्रहरी चौकीबाट ४ जनाको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिनुभयो ।
बेपत्ताहरुको खोजी र उद्धारको लागी जिल्लाबाट प्रहरी निरिक्षकको टोली पठाउन लागिएको समेत डिएस्पी मल्लले जानकारी दिनुभयो । अहिले पनि सङ्खुवासभामा भारी वर्षा भईरहेको छ ।
घटनाको थप बिवरण आउन बाँकी छ । सम्पर्कविहीन भएका पहिरोमा परेको अनुमान गरिए पनि सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले भने पुष्टि भइनसकेको सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार सुरक्षाकर्मी घटनास्थल पुग्नै लागेकाले केही समयपछि पूर्ण विवरण अउनेछ ।
पहिरो प्रभावितको उद्धारका लागि जिल्ला सबै सुरक्षा निकायलाई परिचालन गरिएको पनि प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असार २८, २०७७