काठमाडौं । नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा कोरोनाभाइरसबाट मुक्त हुनेको सङ्ख्या उकालो लागेको छ । पहिलोपटक बढेको यो संख्याले सकारात्मक सन्देश दिएको छ । पछिल्लो २४ घन्टामा कसैको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन ।
हिजो आइतबारसम्म आठ हजार ५ सय ८९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोभिड–१९ कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ८ सय १ छन् । शनिबार ५०.५ प्रतिशत रहेको निको हुने दर आइतबार ५१.१ प्रतिशत पुगेको छ । यसरी पहिलो पटक सङ्क्रमण सक्रिय रहेको सङ्क्रमितभन्दा निको हुने संख्या बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोनाभाइरस सङ्क्रमण सक्रिय रहेका सङ्क्रमितको सङ्ख्या आठ हजार १ सय ७४ रहेको जनाएको छ ।
असार तेस्रो साता दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पाँच सयभन्दा बढी भएको थियो ।
असार १९ पछि दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या घट्दो क्रममा छन् । १७ अंकमा भएको सङ्क्रमितको सङ्ख्या २ अंकमा झरेको चिकित्सकहरुले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७