पाल्पा । यसअघि आकाशी र सेतो रङ्ग मिसिएको ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय महत्वको रानीमहलमा पछिल्लो समय सेतो मात्र रङ्ग लगाएपछि सामाजिक सञ्जालमा बहस भएको छ ।
रानीमहल बनाउने क्रममा सेतो नै भएपनि २०६३/०६४ सालमा आकाशी र सेतो रङ्ग लगाइएको थियो ।
अहिले पुनः सेतो मात्र रङ्ग लगाएपछि सामाजिक सञ्जालमा रङ्ग फेर्नु ठिक कि बेठिक भन्ने विषयमा बहस चलेको हो ।
तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले तानसेन नगरपालिकालाई २ बर्षअघि रानीमहलको संरक्षण गर्ने जिम्मेवारी दिनुभएको थियो ।
जिम्मेवारी पाएको २ बर्षपछि मात्र तानसेन नगरपालिकाले रङ्गरोगन गर्ने काम गरेको हो । चालु आर्थिक बर्षमा नगरपालिकाले रङ्गरोगन र सरसफाईका लागि बजेट विनियोजन गरेर काम गरिरहेको छ ।
४० लाख रकम विनियोजन गरेर नगरपालिकाले ५ वटा शौचालय निर्माणसहित रङ्गरोगनको काम गरेको हो ।
रङ्ग फेरिएपछि सामाजिक सञ्जालमा विभिन्न फरक फरक विचारहरू आइरहेका छन् । धेरैले पहिलेकै रङ्ग राम्रो भएको धारणा राखेका छन् ।
कतिपयले भने दरबारहरू धेरैजसो सेतै हुने भएकाले रानीमहललाई पनि सेतो बनाइएको हुनसक्ने धारणा राखेका छन् ।
कतिपयले यस्तो विषयलाई विवादको विषय बनाउन नहुने पनि बताएका छन् । अनि कतिपयले भने जस्तो रङ्ग भएपनि पहिचान गुम्न नहुने विचार राखेका छन् ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७, ०७:५०