पर्वत ।
तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा पहिरोका कारण ६ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका ५ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंत बरालका अनुसार ऋषिङ गाउँपालिका ८ भैसीकिलेमा अनबहादुर थापाको घर पुरिँदा उहाँका छोरा ३० वर्षका भेषबहादुर थापाको मृत्यु भएको छ ।
पहिरोमा ४ जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा अनबहादुरकी बुहारी ३० वर्षकी नानुमाया थापा, ५ वर्षकी नातीनी अमिसा थापा, २२ वर्षका छोरा महादेव थापा र १९ वर्षकी बुहारी मनिसरा थापा रहेका छन् ।
१७ वर्षकी ज्योतीमाया थापा पहिरोमा परेर घाईते भएकोमा उहाँलाई थप उपचारका लागि भीमाद अस्पताल लगिएको छ ।
व्यास नगरपालिका ९ कलेस्तीमा केशरबहादुर थापाको घर पुरिँदा उहाँकी श्रीमती ४० वर्षकी कमला थापा, छोरा २४ वर्षका मनोज थापा र छोरी २१ वर्षकी अन्जना थापाको शव भेटिएको छ ।
सोहि ठाउँमा ७० वर्षकी मैतीमाया घर्तीको पनि पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको बरालले बताउनुभयो । २० वर्षका राजेश थापा बेपत्ता भएका छन् ।
तनहुँकै म्याग्दे गाउँपालिका वडा नम्बर ६ मा १७ वर्षका लक्ष्मीकुमारी विकको पनि पहिरोले पुरिएर मृत्यु भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गतको बुल्दीखोलामा पहिरो खस्दा दुईतर्फी यातायात अबरुद्ध भएको छ । पानी परिरहेको र कलेस्तीखोला, बुल्दीखोला र साँगे खोला बढेर वारीपारी गर्न समस्या भएको बरालले बताउनुभयो ।
सीआईएनसँग कुराकानी गर्दै तनहुका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले निरन्तरको वर्षा र त्यसपछिको बाढि र पहिरोका कारण ठूलो क्षति भएको बताउनुभयो ।
५० औं घर पहिरोले असर गरेको र सयौं परिवार विस्थापित भएका उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाको एक लाख राहात
ऋषिङ गाउँपालिका पहिरोबाट प्रभावित परिवारलाई एक लाख रुपैयाँ राहात दिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पहिरोबाट ज्यान गुमाएका र बेपत्ता भएका अनबहादुर थापाको परिवारलाई तत्कालका लागि राहात स्वरुप एक लाख रुपैयाँ घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७, १२:५४