काठमाडौँ । उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पुर्याउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी )र राष्ट्रिय युवा परिषद्बीच सम्पन्न द्विपक्षीय सम्झौता भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल तथा सदस्यहरु डा. उषा झा र रामकुमार फुँयालको उपस्थितिमा भएको समारोहकाबीच समझदारी पत्रमा सीटीईभीटीका तर्फबाट उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र राष्ट्रिय युवा परिषद्का तर्फबाट कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गर्नुभएको छ ।
यस समझदारीबाट नेपाली युवाहरुको चाहना र आवश्यकता एवं श्रम बजारको माग बमोजिम सीप विकासका लागि उपयुक्त युवाहरुको छनौट गर्ने¸ ती युवाहरुलाई गुणस्तरीय सीपमूलक तालिम प्रदान गरी सीप परीक्षण र स्तरीकरण गरी प्रमाणीकरण गर्न सजिलो हुने परिषद्का उपाध्यक्ष ढुङ्गेलले सीआईएनसँग बताउनुभयो ।

उहाँका अनुसार तालिम प्राप्त युवाहरुलाई उद्यम एवं रोजगारीका लागि सहजीकरण गर्न संयुक्त प्रयासको थालनीका रुपमा दुवै पक्षबाट लिइएको छ ।
द्विपक्षीय समझदारीका उद्देश्यहरु
- मागमा आधारित छोटो अवधिको सीपमूलक तालिममार्फत उत्पादनशील जनशक्ति तयार गरी उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने कार्यमा सहकार्य गर्ने।
- नेपालमै उद्यमशीलता र स्वरोजगारको अवसर बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्याउने¸
- सरकारको युवालक्षित नीति र कार्यक्रमहरूको साझा उद्देश्य प्राप्तिका लागि एकद्वार प्रणाली मार्फत कार्यान्वयन गर्न सरोकारवाला निकायहरूबीच कार्य क्षमताको आधारमा कार्यगत एकता, समन्वय र सहकार्यको वातावरण तयार गर्ने ।
- सीप र तालिमको माध्यमबाट युवालाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गरी बाध्यतावस् हुने युवाको वैदेशिक पलायनलाई न्यूनीकरण गर्ने¸
- कोभिड १९ को विश्वव्यापी महामारी अघि र पछि वैदेशिक रोजगारीबाट सीप, अनुभव र पुँजी समेत आर्जनगरी स्वदेश फर्किएका युवालाई पुनः विदेशिनु पर्ने वाध्यताबाट रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पुँजीको स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुर्याउने।
- सीप तथा तालिममा राज्यले गरेको लगानीलाई उत्पादनशील र परिणाममुखी बनाउन सहकार्य, समन्वय, सहजीकरण र सहकार्यमा अभिवृद्धि गर्ने।
- सीपयुक्त युवालाई स्वरोजगार तथा रोजगारीका लागि आवश्यक समन्वय तथा संयोजन गर्ने ।
प्रथम पक्ष (सीटीईभीटी)को भूमिका :
- उद्योगी, व्यवसायीएवं रोजगारदाताहरूको सहभागितामा द्वितीय पक्षबाट पहिचान भई आएका व्यावसायहरू (Occupations) को पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने,
- उपलब्ध स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै पहिचान भएका व्यवसायहरूमा गुणस्तरीय तालिम सञ्चालनका लागि सहजीकरण गर्ने,
- तालिमकोक्रममा पाठ्यक्रममा व्यवस्था भए अनुसार प्रयोगात्मक अभ्यासका लागि स्थानीय स्तरमा रहेका सरकारी, गैह्र सरकारी, सहकारी, उद्योगी, व्यवसायी एवं रोजगारदाता संघ/संगठनसँग समन्वय गर्ने,
- सञ्चालित कार्यक्रमहरूको गुणस्तर सुनिश्चितताको लागि नियमित नियमन तथा अनुगमन गर्ने,
- आवश्यकता अनुसार सहभागीले सिकेका वा कार्य अनुभवबाट प्राप्त गरेको ज्ञान, सीप र दक्षतालाई परीक्षण, स्तरीकरण र प्रमाणीकरण गर्ने,
- द्वितीय पक्ष र अन्य सरोकारवाला निकायहरूका बीच नियमित समन्वय र सहकार्य गर्ने।
द्वितीय पक्ष (राष्ट्रिय युवा परिषद्) को भूमिका :
- स्थानीय तह, औद्योगिक प्रतिष्ठानहरूसँग समन्वय गरी युवाहरूको रुचि, क्षमतारआवश्यकतालाई सम्बोधन हुने गरी तालिमको आवश्यकता पहिचान गर्ने,
- तोकिएको मापदण्ड अपनाई तालिमका सहभागीहरूको छनोट गर्न स्थानीय तह मार्फत् आवश्यक संयोजन गर्ने,
- तालिमको स्थलगत अनुगमन गरी तालिमको गुणस्तर र कार्यस्थलको सिकाइ सुनिश्चितताको लागि सहजीकरण गर्ने।
- युवालाई उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न सहुलियतपुर्ण कर्जाको लागि सहजीकरण गर्ने,
- उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नको लागि रोजगार प्रदायक सस्थाहरूसँग समन्वय, सहकार्य र सहजीकरणगर्ने,
- प्रथम पक्ष र अन्य सरोकारवाला निकायहरूका बीच नियमित समन्वय र सहकार्य गर्ने।
यसरी आगामी दिनमा नेपाली युवाको व्यावसायिक सीप विकासका लागि दिइने छोटो अवधिको (३९० घणटा / तीन महिने ) तालिमका लागि युवाको माग इच्छा र आवश्यकताको पहिचान गरी उपयुक्त सहभागी युवाहरुको छनौट गर्ने कामको नेतृत्व तथा संयोजन राष्ट्रिय युवा परिषदले गर्नेछ ।
यसै गरी छनौट भएका युवाहरुलाई गुणस्तरीय तालिम प्रदान गरी सोको सीप परीक्षण र प्रमाणीकरण गर्ने काम CTEVT ले गर्नेछ भने तालिम प्राप्त युवाका लागि उद्यम व्यवसाय र स्वरोजगारका लागि श्रम बजारसंग जोड्ने काममा युवा तथा साना व्यवसायी स्वरोजगार कोष¸ निजी रोजगार प्रदायक संस्था तथा प्रतिष्ठानहरु र वैंक तथा वितीय संस्थाहरु समेतको संयुक्त भूमिका रहनेछ ।
यसका लागि पनि राष्ट्रिय युवा परिषदले संयोजनकारी भूमिका खेल्नेछ । नेपाल सरकारबाट प्रस्तावित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति (TVET Policy) को मार्गदर्शनका आधारमा अघि बढ्ने सहमतीसमेत आज भएको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७