काठमाडौं । सप्तरी तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ मा गत वर्ष साउनमा आएको बाढीका कारण सिङ्घेश्वर खङ्को घर बगायो । सिङ्घेश्वरको घर मात्रै होइन पुरै गाउँ नै डुबानमा पर्यो । बाढी नरोक्उिनजेल उहाँ सहित गाउँका सबै अन्यत्रै बसे । केही दिनमा बाढी रोकियो । उनीहरु फेरि आफ्नै बस्तीमा फर्किए । पानी पर्न छोडेपछि आफ्नै बस्तीमा फर्कनुको बिकल्प पनि थिएन । पछिल्लो केही दिन यताको निरन्तरको झरिले बस्ती फेरि डुबानमा पर्न थालेको छ ।
सिङ्घेश्वर तिलाठी कोइलाडी गाउँपालिकामा बस्न थाल्नुभएको वर्षौ भयो । ३० वर्षका उहाँले सानैदेखि यो क्रम भोगि रहनुभएको छ । तर, समस्याको ठोस समाधान हुन सकेको छैन । सिङ्घेश्वर भन्नुहुन्छ, ‘खाडो नदीमा पानी उच्च हुन्छ । पानीको कटान बस्तीको बीचबाट हुन्छ । वर्षेनी गाउँ डुबानमा पर्छ । यो वर्षपनि डुबि सक्यो ।’
पानी पर्न छोडेपछि आफ्नै बस्तीमा फर्कन्छु । भत्केका माटोका घरहरु मर्मत गर्छु । टालो लगाउँछु । हिउँदभरि बस्छु, फेरि अर्को वर्ष यस्तै हुन्छ । पानी परिरहँदा निन्द्रा हराउँछ ।
उहाँ थप्नुहुन्छ, ‘पानी पर्न छोडेपछि आफ्नै बस्तीमा फर्कन्छु । भत्केका माटोका घरहरु मर्मत गर्छु । टालो लगाउँछु । हिउँदभरि बस्छु, फेरि अर्को वर्ष यस्तै हुन्छ । पानी परिरहँदा निन्द्रा हराउँछ । कतिबेला पानी आउँछ र भाग्नुपर्छ भनेर सधैं सर्तक हुनुपर्छ । स्थायी रुपमा नै बस्ती सार्न पाए हुने जस्तो स्थानीयलाइ लाग्छ । तर स्थानीय सरकारसंग बस्तीलाइ सार्ने बारेमा कुनै योजना छैन । सीआईएनसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले भन्नुभयो, ‘स्थायी रुपमा पीडितहरुलाई व्यवस्थापनका लागि सोचेको छैनौं । किनभने पालिका भरि नै डुबान हुन्छ । अब कुन बस्तीलाइ कहाँ लिएर जाने ? समस्या छ । तर यस विषयमा प्रदेश सरकारसँग छलफल भने गरिरहेका छौं ।’
३५ हजार जनसंख्या रहेको तिलाठी कोइलाडी गाउँपालिका हरेक वर्ष डुबानमा पर्दै जाँदा मानवीय भौतिकसंगै लाखौंको कृषिजन्य उत्पादनमा पनि क्षति पनि हुने गरेको छ । नेपालकै सबैभन्दा होचो ठाउँ भनिने धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका क्षेत्र पनि हरेक वर्ष डुबानमा पर्छ । जहाँ लगभग २५ हजार ५ सय जनसंख्या छ । उनीहरु वर्षै पिच्छे डुबानबाट प्रभावित हुन्छन् । यस पटक पनि गाउँमा बाढी पस्न थालेको मुखियापट्टीका स्थानीय बताउँछन् ।
मुखियापट्टी मुसहरनीयाका उर्मिलादेवी खत्वेको पनि समस्या उस्तै छ । ४ कोठाको माटोको घर छ । अहिले पनि उहाँको घर पानीले चारै तिरबाट घेरिएको छ । उर्मिला भन्नुहुन्छ, ‘पानी पर्दै गर्दा मेरो घरलाई पानीले घेरिसकेको छ । कुनैपनि बेला घर भत्काइदिन सक्छ । कहाँ जाने कसरी भाग्ने कुनै ठेगान छैन ।’ उर्मिला थप्नुहुन्छ, ‘गत वर्षपनि डुबानले घर भत्काइदियो । यो वर्षपनि भत्काइदिने निश्चित नै छ । तर, हामीलाई हेर्न र सुरक्षित स्थानमा सार्नका लागि कोही पनि आउनुहुन्न ।’
मुखियापट्टी मुसहरनीयाका उर्मिलादेवी खत्वेको पनि समस्या उस्तै छ । ४ कोठाको माटोको घर छ । अहिले पनि उहाँको घर पानीले चारै तिरबाट घेरिएको छ ।
प्रदेश नम्बर २ को ८ ओटै जिल्ला प्रत्येक वर्ष जसो बाढी र डुबानका कारण प्रभावित हुन्छन् । अहिले पनि रौतहट, सर्लाही, सिरहा, महोत्तरी, सप्तरी लगायत जिल्लाका केही क्षेत्रमा डुबान सुरु भैसकेको छ । वर्षैपिच्छे एउटै समस्या दोहोरिए पनि न जोखिम क्षेत्र पहिचान गरि समाधानको उपाए खोजिन्छ न त बाढी पिडितलाई समयमा राहत र व्यवस्थापनको काम हुन्छ ।
गत वर्षको बाढी र डुबानका कारण रौतहटको ८ पालिकाका झन्डै ८० हजार मानिसहरु प्रभावित भए । २५ हजार घर पुरै क्षति भयो । नेपाल र भारतको सीमामा बनेको बाँध भत्किदा गौर नगरपालिका सबैभन्दा बढी प्रभावित हुन्छ । अहिलेपनि पालिकाका अधिकांश क्षेत्र डुबानमा परिसकेको छ ।
गौरका महिन्द्र यादव सुनाउनुहुन्छ, ‘अस्ति मात्रै परेको पानीका कारण घर सबै डुबिसक्यो । बालबच्चा लिएर विद्यालयमा छौं । कति दिन यसरी बस्ने थाहा छैन । खाने र पिउने पानीको व्यवस्था पनि उचित हुँदैन । त्यसमाथि वर्षेनीको यो जोखिमलाई सरकारले सँधैका लागि समाधान गरिदिए हुन्थ्यो ।’
जन्मथलो नै गौरमा रहेको महिन्द्रलाई वर्षाका कारण हरेक वर्ष विस्थापित बनाउँछ तर, स्थायी टुंगो भने नलाग्दा आफ्नो भन्दा पनि छोराछोरीलाई पो केही हुने हो की भन्ने चिन्ताले सताईरहन्छ । प्रत्येक वर्ष एउटै बस्तीमा उस्तै खाले समस्या दोहोरिरहन्छ । जनधनको क्षति हुन्छ । तर पनि जोखिममा रहेका बस्तीहरु स्थानान्तरण हुँदैनन् । तर, यस वर्ष भने प्रदेश सरकारले जोखिमयुक्त क्षेत्रको पहिचान गरी विशेष योजना बनाउने तयारी गरेको छ ।
प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश २ का ८ जिल्ला मध्ये कुन कुन ठाउँ सबैभन्दा बढी प्रभावित हुन्छ तीनिहरुको पहिचान र मापन गरिसकेको जानकारी दिनुभयो । मन्त्री यादवले भन्नुभयो, ‘हामीले बनाएका विपद न्यूनिकरण सम्बन्धी कार्ययोजनामा काम थालिसकेका छौं । प्रभावित क्षेत्रको पहिचान भइसकेको छ । आशा छ यस वर्ष प्रदेशमा कम क्षति हुन्छ । स्थानीय सरकारसँगको समन्वयमा उनीहरुको उद्दारको पनि तयारी गरिएको छ ।
प्रदेशभरि लगभग ५४ लाख ५ हजार मानिस बसोबास गर्छन्, त्यस मध्ये २० लाख मानिसहरु बाढी र डुबानको उच्च जोखिममा छन् ।
प्रभावित हुने र विशेषगरि विस्थापित हुनेहरुलाई स्थायी रुपमा स्थानान्तरण गर्न सकिँदैन ? भन्ने प्रश्नमा मन्त्री यादवले भन्नुभयो, ‘त्यस विषयमा पनि प्रदेश सरकार छलफल गरिरहेको छ । तर, वर्षौदेखि बसोबास गर्दै आएको ठाउँ र खेतीपाती छोडेर नागरिकहरु अन्तै जान नमान्दा समस्या भएको छ । त्यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि आन्तरिक छलफल गरिरहेका छौं ।’
प्रदेश २ सरकारका अनुसार बाढी र डुबानमा परि गत वर्ष मात्रै ६५ जनाको मृत्यु भएको थियो । प्रदेशभरि लगभग ५४ लाख ५ हजार मानिस बसोबास गर्छन्, त्यस मध्ये २० लाख मानिसहरु बाढी र डुबानको उच्च जोखिममा छन् ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७