गोल्डेन बुढा, रेडियो कर्णाली जुम्ला
जुम्ला । जुम्ला सिँजा गाँउपालिकाका युवती आज पाटनमा काफल टिप्न गएका छन् । उनीहरु संगै युवाहरु पनि पाटनमा पुग्छन् । एक आपसमा रमाईलो गर्छन् । काफल ल्याएर घर फर्कन्छन् । काफल खाएर असारलाई विदा गर्ने प्रचलन अनुसार हरेक असारको अन्तिम दिन यहाँ काफल टिप्ने गरिन्छ । यो दिन काफल टिप्ने र खाने दिन हो ।
युवाहरु पाटनमा पुग्छन् । एक आपसमा रमाईलो गर्छन् । काफल ल्याएर घर फर्कन्छन् ।
हरेक बर्ष असार मसान्तमा काफल खाएर असार महिनालाई विदाई गरिने परम्परा जुम्लामा छ । जुम्लाको क्षेत्र नम्बर (ख) अर्थात सिँजा क्षेत्रमा पर्ने स्थानीय तहमा काफल टिपेर खाने चलन छ । पाटनमा गएर काफल टिप्ने र खाने चलन पहिले देखि चलि आएको बुढापाकाहरुले बताउने गरेका छन् । युवायुवती वनमा गएर युवतीहरुले काफल टिप्ने, खाने र एकआपसमा रमाइलो गर्ने गर्दछन् । युवतीहरुले टिपेका काफलहरु युवाहरुले मागेर खाने गर्दछन् ।
काफल टिप्नको लागि प्लाष्टिक र निगालोबाट बुनेका बस्तु लैजाने चलन छ । यो दिनबाट काफल पनि विस्तारै हराउने गर्दछन् । जुम्लामा जेठ महिनाको १५ गते बाट काफल पाक्न सुरु हुन्छ । यो दिन मन परेका युवायुवती भेटघाट गर्ने दिनको रुपमा पनि परिचित छन । काँफल टिप्न गएका युवायुवतीले मायाप्रितिका देउडा खेल्ने गर्छन् ।
यो दिनमा बाबु, आमाको अगाडी देउडा खेल्दा पनि लाज मानिदैन । काफल टिप्न जाँदा छाता, प्लाष्टिक ओढेर जाने गरिन्छ । यो दिनमा अनिवार्य बर्षा हुनुपर्छ भन्ने विश्वास छ । गाईगोरु लेकतिर लैजानु पर्ने मान्यता छ । यो पटक कोराना भाइरसका कारण काफल टिप्न जाँदा मास्क लगाएर बनतीर गएको स्थानीय मानवहादुर बुढाले बताउनुभयो ।
काफल टिपेर असारको विदाई गरिने उहाको भनाइ छ । पाटनमै दहि, खिर,दुध,मासु, पुरी, तरकारी खाने चल्ती पनि रहेको छ । आजका दिन परम्परागत पहिरन पटुका चोलोे,धोती लगाउने र गलामा माला पहिरने गरिन्छ । आजको दिनमा घरमा गाई नहुनेले बजारबाट पाउडरको दुध लिएर पनि खीर खानुपर्छ । यतिबेला जङ्गलहरुमा केही चराचुरुङ्गी कराएको आवाजले काफल पाकेको संकेत गर्छ ।
यो दिनमा बाबु, आमाको अगाडी देउडा खेल्दा पनि लाज मानिदैन । काफल टिप्न जाँदा छाता, प्लाष्टिक ओढेर जाने गरिन्छ ।
काफल पाकेपछि वनजङ्गल राताम्मे हुन्छ । काफललाई पवित्र फल मानिन्छ । तराईमा जतिजति गर्मीको राप चढ्दै जान्छ । पहाडका जङ्गलमा काफलको रङ्ग पनि गाढा बन्दै जान्छ । काफल अहिलेको मौसमी फल भएकोले असारको अन्तिम दिन सबैले चाख्नैपर्छ भन्ने मान्यता जुम्लामा रहेको सिँजा गाउँपालिका ६ जोडुका स्थानीय ८६ वर्षिय बीरवहादुर बुढाको भनाई छ । जुम्लामा गाइने थुप्रै गीतमा काँफलको प्रसङ्ग जोडिएको छ ।
स्थानीय काली बुढाले असारको अन्तिम दिन काफल खाने दिनको रुपमा परिचित भएको बतानुभयो । तर हिजो आज भने मार्सीधान र गाई भैँसीको दुधबाट खिर बनाइ खाने चलन समेत हट्दै गएको उहाँको भनाइ छ ।
यो दिनले काफलको महत्व बढाउनुका साथै छर छिमेकी साथीभाइहरुका बीचमा सम्बन्ध स्थापित गर्न सहयोग गरेको स्थानीयको भनाइ छ । यो दिन सिँजाली क्षेत्रका लागि निकै महत्वपुर्ण दिन हो ।
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७, १६:५८