काठमाडौं । नेकपाको विवाद मिलाउन आजदेखि त्रिपक्षीय सम्वाद हुने भएको छ । दुई अध्यक्षको छलफलबाट निस्कर्ष आउन नसकेपछि आज त्रिपक्षीय छलफल हुन लागेको हो । भोलि शुक्रबार स्थायी कमिटी बैठकअगाडि बिहीबार नेकपामा त्रिपक्षीय संवादबाट विवाद समाधान गर्न खोजिएको छ ।
डेढ सातादेखि लगातार संवादमा रहेका प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छलफलमा आज वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागि हुनुहुनेछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबाहेक वरिष्ठ नेता नेपालबीच सहमति जुटाउने प्रयासस्वरूप वार्ता हुनेछ ।
१० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।
एक्ला एक्लै भइरहेको दुई अध्यक्षको छलफलमा हिजो महासचिव विष्णु पौडेल पनि सहभागि हुनुभएको थियो । दुई अध्यक्षबीत लेनदेनमा सहमति नभई विधी अनुसार समाधान खोज्नुपर्ने नेपाल पक्षमा रहेका स्थायी कमिटीका सदस्यहरुको निस्कर्ष छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७, ०६:४४