काठमाडौँ । सरकारले आफूहरुका माग पूरा नगरेको भन्दै निजी विद्यालयले आजबाट अनलाइन कक्षा नचलाउने भएका छन् ।
निजी विद्यालयहरूको छाता सङ्गन प्याब्सन र एन–प्याब्सनले संयुक्त रूपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।
सीआईएनसग कुरा गर्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरीले अनलाइन कक्षा सञ्चालन गर्ने विषयमा सरकारले आफूहरूको माग सम्वोधन नगरेकाले अनलाइन कक्षा बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँका अनुसार अनलाइन कक्षा सञ्चालन गर्नका लागि आर्थिक प्याजेकजको माग गरिए पनि सरकारले अझैँ सुनुवाइ गरेको छैन । जसका कारण अनलाइन कक्षा बन्दको घोषणा गर्नुपरेको उहाँको भनाइ छ ।
प्याब्सन तथा एन प्याब्सनले गएको असार ७ मा नियमित अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गर्दै यस शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जान अभिभावकहरूलाई आह्वान गरेको थियो ।
तर त्यसको चौतर्फी विरोध भएपछि सरकारले आफूहरूको समस्या समाधानका लागि प्याकेजको घोषणा गर्न माग गरिए पनि त्यसो नभएका कारण निजी विद्यालयहरु असन्तुष्ट छन् ।
सरकारले भने निजी विद्यालयलाई अनलाइन कक्षा नरोक्न आग्रह गरेको छ ।
सीआईएननसँग कुराकानी गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले निजी विद्यालयको माग सम्वोधनका बारेमा छलफल चलिरहेकाले अनलाइन कक्षा रोकेर बालबालिकाको पढाइ प्रभावित नपार्न अनुरोध गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७, ०७:३५