सुवास चौलागाई, ग्रेस एफएम, भक्तपुर ।
भक्तपुरस्थित ऐतिहासिक पाँचतले न्यातपोल मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ ।
फागुनदेखि शुरु भएको जीर्णोद्धारको काम बन्दाबन्दीले बीचमा झन्डै एक महिना रोकिएपछि वैशाखदेखि पुनः शुरु भएको थियो । जीर्णोद्धारको अनुमानित लागत भन्दा आधा कम बजेटमा काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले न्यातपोलको जीर्णोद्धारका लागि ६५ लाख १३ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।
तर, नगरबासीको श्रमदानले गर्दा करिब २९ लाखमा जीर्णोद्धारको काम सम्पन्न भएको भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जानकारी दिनुभयो ।
मन्दिरको जीर्णोद्धार गर्ने क्रममा चार हजार एकसय बढी नगरबासीले श्रमदान गरेका छन् ।
भक्तपुरको प्रसिद्ध यो मन्दिरमा एकैदिन दुईसय भन्दा बढि मानिसले श्रमदान गरेका थिए । मन्दिर जीर्णाेद्धार व्यवस्थापन समितिले दैनिक जनश्रमदान गर्न आउन चाहने समुहहरूको तालिका नै बनाएर जनश्रमदान गर्न लगाएको थियो ।
मन्दिर जीर्णाेद्धार कार्य सम्पन्न हुन लागेकोले आफूहरूले जनश्रमदान गर्न नपाउने हो कि भनेर श्रमदानका लागि ठूलो संख्यामा स्थानीय आएका हुन् ।
विश्व सम्पदा सूचीमा सूचिकृत मन्दिरको जीर्णाेद्धारमा आफ्नो पनि योगदान स्मरणीय र गर्विलो हुने भएकाले श्रमदान गरेको सहभागीहरूको भनाइ छ । श्रमदान गर्नेमा अधिकांश महिला रहेका थिए ।
बन्दाबन्दीले समस्यामा परेका मजदुरहरूलाई पारिश्रामिक दिएर मन्दिर जीर्णोद्धारमा सहभागी गराइएको पनि उपप्रमुख जोशीले बताउनुभयो ।
जीर्णाेद्धारका लागि १२ लाख बढी रकम जुटेको छ ।
३१७ वर्ष पुरानो यो मन्दिर १२ वैशाख २०७२ मा आएको भूकम्पले क्षति पु¥याएको थियो ।
१०८ फिट अग्लो यो मन्दिर नेपाल सम्वत ८२२ मा राजा भूपतीन्द्र मल्लले निर्माण गरेका थिए । यसअघि वि.सं २०१९ मा र २०५६ मा पनि मन्दिरको जीर्णोद्धार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७, ०६:५९