काठमाडौं । कोभिड–१९ का कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधा दिइने भएको छ । व्यवसाय अनुसार तीन महिनादेखि एक बर्षसम्म छुट दिनेगरि चालू आवको मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ ।
बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ । दिउँसो तीन बजे मौद्रिक नीति सार्वजनिक गरिनेछ ।
मौद्रिक नीतिमा प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटनलगायतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था केही परिमार्जन गरिएको छ । ‘अब कृषिमा १२ देखि १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र बाँकी अन्यमा गरी परिमार्जन गर्न लागिएको छ ।
मौद्रिक नीतिमा कोभिड–१९ को असरले थला परेको अर्थतन्त्रमा सरोकारवालाहरूको मनोबल बढाउन विभिन्न राहत कार्यक्रम ल्याउन लागिएको छ ।
कोभिड(१९ ले कुन कुन क्षेत्रलाई कस्तो असर गरेको छ, ती क्षेत्रलाई राहत प्याकेजका साथै तरलता तथा बजार बिस्तारका लागि नीतिगत सहुलियत दिइने नीति लिइएको छ।
पर्यटन, सार्वजनिक यातायात, ट्याक्सी, साना तथा मझौला, लघु उद्यमका लागि राष्ट्र बैंकले ब्याज दरमै सहुलियत दिइने नीतिमा उल्लेख छ। ऋण तिर्ने भाका सार्नुका साथै कतिपय अवस्थामा पुनर्संरचनाको नीति लिइएको छ। सहुलिय कर्जालाई गाउँ गाउँसम्म पुगाउने र थप ब्यवस्थित बनाउने नीतिमा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७, ११:४०