काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठकका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।
तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो ।
स्थायी कमिटीको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ । छलफल केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा केन्द्रित हुने जनाइएको छ ।
आजको स्थायी कमिटी बैठकमा अध्यक्ष द्वय ओली र प्रचण्डले सम्वोधन गर्ने तयारी भएको छ । विवाद समाधानका लागि निकास खोज्ने अन्तिमम्मको प्रयास पनि असफल भएपछि ओली र प्रचण्ड–नेपाल समूहले आआफ्नो रणनीति बनाएका छन् ।
हिजो राति अवेरसम्म बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै छलफल भएका छन् । असार १० मा सुरु भएको स्थायी कमिटीको बैठक असार तेस्रो सातादेखि बस्न सकेको छैन ।
दुई अध्यक्षवीच सहमति जुटाउनका लागि भन्दै आजसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
हिजो बालुवाटारमा भएको अध्यक्ष द्वय ओली र प्रचण्ड अनि वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा कुनै सहमति नभए पनि आजका लागि बोलाइएको स्थायी ममिटिको बैठक नरोक्ने सहमति भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७, १२:१२