गाउँपालिका, वडादेखि स्थानीय माझी समुदाय समेतलाई सूचना नदिई शिलन्यास कार्यक्रम गरेपछि सबैले बहिष्कार गरेको इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङको भनाई छ ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ प्युघर माझी भदौरे एकिकृत बस्ती निर्माणमा विवाद भएको छ । विवादकैबीच प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले हिजो बस्ती निर्माणको शिलन्यास गर्नुभयो । तर ईन्द्रावति गाउँपालिका अध्यक्ष बंशलाल तामाङ सहित वडा कार्यालय र केहि स्थानीयले निर्माणस्थलबाटै शिलान्यास बहिस्कार गरेका छन् ।
अक्सफामको आर्थिक सहयोगमा महिला आत्मनिर्भरता केन्द्र मांकले ३६ माझी परिवारको लागि बनाउन लागेको एकिकृत बस्ती शिलन्यास मंगलबार नै हुने भनिएपनि नेकपाका कार्यकर्ता स्थानीयबीच विवाद हुँदा बीचैमा रोकिएको थियो । गाउँपालिका, वडादेखि स्थानीय माझी समुदाय समेतलाई सूचना नदिई शिलन्यास कार्यक्रम गरेपछि सबैले बहिष्कार गरेको इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङको भनाई छ ।
तामाङले गाउँपालिका, सहयोगि संस्था र स्थानीयबीचको त्रिपक्षीय सम्झौता पछि नमूना बस्तीको काम अगाडी बढाइएकोमा मन्त्रीहरुले स्थानिय तहसँग समन्वय गर्नुपर्ने संविधानको धारा २ सय ३७ को मर्म विपरित स्थानीय तहसँग कुनै समन्वय नगरेको भन्दै बहिष्कार गरेको बताउनुभयो ।
बाडेगाउँको ३६ माझी परीवारका लागि सहयोगी संस्था अक्सफाम र महिला आत्मनिर्भरता केन्द्र मांकले आर्थिक तथा प्राविधिक सहयोग गर्दैछ । शिलन्यासमा यहि संस्थाका प्रतिनिधि सहभागी नै भएनन् । महिला आत्मनिर्भरता केन्द्रका अध्यक्ष डोल्मा तामाङले विवादका कारण भन्दापनि सार्वजनिक विदाको समयमा शिलान्यास भएकाले उपस्थित हुन नसकेको बताउनुभयो ।
संम्बन्धित पक्ष कोही उपस्थित नभई विवादकाबीच गरिएको कार्यक्रमले एकिकृत बस्तीलाई अन्योलमा पारेको यहाँका स्थानियको बुझाई छ । नेकपाका नेता कार्यकर्ताले एकलौटी शिलन्यास कार्यक्रम गरेको भनि विवाद भईरहदा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालाई जनप्रतिनिधिलाई खबर नदिइ पेलेर बस्ती शिलन्यास गरेको आरोप स्थानीयले लगाएका छन् । तर मन्त्री दुलाल भने आफु निम्ता आए अनुसार गएर बस्तीको शिलान्यास गरेको बताउनुहुन्छ ।
गाउँपालिका र प्रदेश मन्त्रीबीच कुरा बाझिएपछि एकिकृत बस्ती निर्माण समितिका अध्यक्ष सर्मिला माझीले विवाद हुनु गलत भएको भन्दै बस्ती निर्माण समयमा नै सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।
यो एकिकृत बस्ती निर्माण सिन्धुपाल्चोकमा निर्माण हुन लागेको पछिल्लो परियोजना हो । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित गिराचौर बस्तीपछि जिल्लामा झण्डै दर्जन बढी एकिकृत बस्ती बन्दैछन् ।
२०७२ को भूकम्पले धेरै क्षति पुर्याएको सिन्धुपाल्चोकमा जहाँ एकिकृत बस्ती निर्माण सुरु गरियो कतै राजनीतिक हस्तक्षेप भयो भनेर विवाद आएको सतहमा देखिएको छैन ।
भूकम्पले घर ढालेपछि अस्थायी टहरामा बस्दै आएक भूकम्पपीडितका लागि उपयुक्त भूकम्पप्रतिरोधी घर निर्माणमा सबै एकजुट भएर लाग्नुपर्नेमा यसरी राजनीतिक विवाद हुँदा पीडित झनै पीडित बनेका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५, १६:११