काठमाडौँ । भोलिदेखि पाँच दिन देशभर ठूलो वर्षा हुने भएका कारण बाढी र पहिरोको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
विपद् विज्ञहरूले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई पाहुना लागेरै भए पनि सुरक्षित स्थानमा गएर बस्न अनुरोध गर्नुभयो ।
मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त पूर्वानुमानमा यो हप्ता देशैभरि ठूलो वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप हुने देखिएकाले विशेषगरी भोलिदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको अध्यक्षतामा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागसहितले हिजो संयुक्त पत्रकार सम्मेलन गर्दै भोलिदेखि ८ गतेसम्म ठूलो पानी परेर बाढीपहिरो जानसक्ने भएकाले सबैलाई सतर्क रहन आह्वान गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थान र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७, ०९:२०