धनकुटा । सरकारले नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ रोकथामका लागि मुलुकभर बन्दाबन्दी अर्थात लकडाउन घोषणा गरेपछि एक महिनाको घरभाडा छुट दिन निर्देशन दियो ।
तर सबै घरबेटीले भाडा छुट गरेनन्, कतिपय स्थानका घरबेटीले भने सरकारले भनेभन्दा धेरै महिनाको पनि भाडा छुछ गरेर प्रशंसा बटुलिरहेका छन् ।
भाडा छुट गर्ने घरबेटीलाई सामाजिक सञ्जालमा धन्यवाद दिने परिपाटी भएको बेलामा धनकुटामा भने डेरावाल र पसलेहरुलाई घरभाडा छुट गर्ने ८६ जना घरधनीहरुलाई सम्मान गरिएको छ ।
उनीहरुलाई धनकुटा उद्योग बाणिज्य सङ्घले दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको छ ।
धनकुटा नगरपालिका ७ संगम टोलका दिपेश राई (कान्छा), जीतबहादुर राई, शान्त राई, कृष्णबहादुर बोगटी, सुष्मा बोगटीलगायतलाई सम्मान गरिएको हो ।
धनकुटा मदनचौकका कृष्णबहादुर श्रेष्ठ, बिमल श्रेष्ठ, सुरेन्द्र आठपहरिया, मनु आठपहरिया, देवबहादर लिम्बुले समेत घरभाडा छुट दिएर सम्मानित हुनु भएको छ ।
यसअघि पनि घरभाडा छुट गर्नेहरुलाई धनकुटा उद्योग बाणिज्य सङ्घका तर्फबाट सम्मान गरिएको थियो । धनकुटा बजारका ८६ जनाले घर भाडा मिनाहा गरेको उद्योग वाणिज्य सङ्घ धनकुटाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०७७, ०७:५०