कालिकोट । रेडियो नयाँ कर्णालीका बरिष्ठ प्राविधिक तथा संवाददाता कर्ण बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटना प्रति सामुदायिक रेडियो प्रशारक संघ अकोराबले आपत्ती जनाएको छ ।
अकोराबले प्रेस विज्ञप्ती जारी गर्दै समाचार प्रशारण भईरहेको समयमा रेडियोको प्राविधिक कक्षमा प्रवेश गरि प्रहरीले संचारकर्मी बिश्वकर्मालाई पक्राउ गर्नुले प्रेस स्वतन्त्रता कुण्ठित पार्ने काम भएको जनाएको छ । बिकलाई बिना सर्त रिहाई गर्न अकोराबले सरकारसँग माग गरेको छ । अकोराब महाससिचव गोविन्द देवकोटाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा रेडियोकर्मी विश्वकर्मालाई पक्राउ गर्ने प्रहरीलाई कारवाहीको माग समेत गरिएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघले पनि घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै विश्वकर्मालाइृ तत्काल रिहा गर्न विज्ञप्ती मार्फत सरकारसँग माग गरेको छ ।
यस्तै, कालिकोटका सामुदायिक रेडियोहरुले प्रशारण सेवा बन्द गर्दै तालाचाबी प्रशासनलाई बुझाएका छन् । जिल्ला सदमुकाम मान्ममा रहेको रेडियो नयाँ कर्णालीका प्राबिधिक कर्ण बिकलाई आज विहान स्टुडियोबाटै पक्राउ गरेको भन्दै, विरोधमा सबै रेडियोको प्रशारण सेवा बन्द भएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५, २०:००