काठमाडौँ । सरकारले आगामी १ भदौदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा नियमित सञ्चालनमा ल्याउने निर्णय गरेको छ । हिजो राति अवेर सकिएको मन्त्रिपरिषद् बैठकले सुरक्षा सावधानी अपनाएर हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो ।
के कस्तो सुरक्षा सावधानी अपनाउने भन्ने बारेमा पर्यटन मन्त्रालयले केही दिनभित्रै तय गर्ने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय अभ्यास हेरेर मादपण्ड बनाई हवाई सेवा सुचारु गर्ने तयारीमा सरकार छ ।
हवाई सेवा सुचारुबारे पर्यटन मन्त्रालयले नै अध्ययन गरेको प्रतिवेदनका आधारमा सरकारले सुचारु गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमणका कारण नेपालमा ९ चैतदेखि अन्तर्राष्ट्रिय तथा ११ चैतदेखि आन्तरिक उडानमा रोक लगाइएको छ ।
आन्तरिक उडानको भाडाबारे एयरलाइन्स व्यवसायीहरूसँग छलफल गरी लागू गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानका लागि भने पीसीआर जाँच अनिवार्य गरिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले छोटो दूरीमा अन्तरजिल्लामा सवारीसाधन चलाउन दिने निर्णय गरेको छ । यस विषयमा यातायात मन्त्रालयले थप योजना बनाएर लागू गर्ने छ ।
मन्त्रिपरिषद् बैठकले प्रशासकीय अदालतमा अध्यक्ष र दुई सदस्य नियुक्त गरेको छ ।
कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेका अनुसार पूर्वकानुन सचिव डिल्लीराज घिमिरेलाई अध्यक्षमा नियुक्त गरिएको छ भने सदस्यमा अधिवक्ता रीता मैनाली र उच्च अदालत पोखराका रजिस्ट्रार कृष्णप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७, ०७:५९