काठमाडौं । सरकारले लगाएको लकडाउन अथवा बन्दाबन्दी १ सय २० दिनपछि पूर्णरुपमा खोलेको छ । कोरोना संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै वेला सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को हिजो निर्णयपछि ११ चैतदेखि लागू गरिएको लकडाउन आजदेखि अन्त्य भएको हो । सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय छ । १५ साउनदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन गरिनेछन् ।
त्यस्तै, स्वास्थ्य मापदण्ड पालना गरी १ भदौदेखि लामो दूरीका सार्वजनिक यातायात तथा हवाई सेवा सुरु गरिनेछ । सरकारले १ भदौदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । तर, स्कुल–कलेजमा पठनपाठन भने तत्काल हुनेछैन ।
त्यसबारे पछि निर्णय हुने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । लकडाउन खुलाइए पनि शैक्षिक संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन–ब्युटिपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभारभेला, धार्मिक क्षेत्र, पुस्तकालय, संग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द नै रहने छन ।
उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा संक्रमण छिट्टै फैलने चिन्ता स्वास्थ्यविज्ञहरूले गरेका छन । स्वास्थ्य विज्ञ डाक्टर समिरमणी दिक्षीतले लकडाउन खुल्नु भनेको बन्द खुल्नुजस्तै भएकाले विषेश सर्तकर्ता अपनाउनुपर्ने बताउनुभयो ।
तर सरकारले लकडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना नगर्नेलाई संक्रामक रोक तथा स्थानीय प्रशासन ऐनअनुसार कारबाही गर्ने भनेको छ ।
सार्वजनिक यातायात चलाउने निर्णय खुसीसँगै चिन्ता
सरकारले सार्वजनिक यातायात चलाउने निर्णय गरेपछि खुसीसँगै चिन्ता बढेको छ। यातायात व्यवस्था विभागका महानिर्देशकका गोगनबहादुर हमालका अनुसार, साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुनेछन्। विज्ञहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा विषेश ध्यान दिन भनेका छन् ।
मास्क अनिवार्य लगाउन, सेनिटाइजर बोकिरहन र सार्वजनिक यातायातमा यात्रा गर्दा चानचुन पैसा बाकिरहन विज्ञहरुको अनुरोध छ । स्वास्थ्य विज्ञ डाक्टर अनुप सुवेदीले भन्नुभयो ‘ठूलो नोट साट्दाखेरि सहचालकसँग बोल्नु पर्दा वा थुक लागेको नोट छ भने संक्रमणको जोखिम हुन सक्छ । त्यसमा विषेश ख्याल गर्नुपर्छ । ’
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७, ०६:५७