काठमाडौ । कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक संकट बेहोनु परेको भन्दै सरकारी निकायले नै १२ बर्षदेखि करार सेवामभा रहेका कर्मचारी जागरिबाट निकालेको छ । नेपाल वायुसेवा निगमले १ सय ४५ जना कर्मचारीलाई जागिरबाट निकालेको हो ।
कोभिड १९ को प्रभावले निगमको आम्दानी नभएको भन्दै साउनदेखि करार सेवा थपेको छैन । करारमा रहेका ४ सय ७८ कर्मचारीमध्ये १ सय ४५ जनाको करार नवीकरण नगरिएको निगमले जानकारी दिएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काले बोर्डको निर्णय अनुसार प्रशासन तर्फका १सय ४५ जना कर्मचारीको साउन १ गतेबाट नवीकरण नगरिएको जानकारी दिनुभयो । क्याविन क्रु, पाइलटहरु नै करारमा रहेकाहरुको भने नवीकरण गरिएको छ ।
असार मसान्तमा करार अवधि समाप्त भएका २ सय २५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी १ सय ४५ जना कर्मचारीको सेवा नवीकरण नगर्ने निर्णय गरेको छ ।
करार कर्मचारी आन्दोलनमा
नपाल वायुसेवा निगमका करार कर्मचारीले भने नियुक्तको माग गर्दै आन्दोलन सुरु गरेका छन् । कार्यालय अगाडि धर्ना दिइरहेका उनीहरुले चरणबद्ध आन्दोलन गर्ने भएका छन् । ती कर्मचारीले आबश्यक पर्दा काम लिने तर अप्ठायारेमा जागरिबाट निकालेको भन्दै करार नवीकरणसहित रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् ।
उनीहरुले निगमभित्रको आन्तरिक भ्रष्टाचार अन्त्य गर्नुपर्ने पनि उनीहरुको माग छ । धर्नामा रहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निगममा कार्यरत करार कर्मचारीहरुले रोजगारी सुनिश्चित गर्नुपर्ने माग राखेर गत असार २८ गते देखि विरोध जनाउदै आएका छन् ।
करार कर्मचारी संघर्ष समितिले करार नविकरण र रोजगारीको सुनिश्चितता, आन्तरिक भ्रष्टाचार अन्त्यको माग गर्दे आन्दोलन गरेका हुन् ।
कोभिड १९ का कारण अप्ठेरोमा भएका बेला सरकारी तथा संस्थानमा कार्यरत अस्थाई पेसाकर्मीलाई रोजगारीबाट निष्काशन गर्ने काम भएको भन्दै पेशागत महासङ्घले पेशाकर्मीको जायज मागलाई सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेको छ ।
महामारीको संकटका बेला स्वास्थ्य, सुरक्षा र रोजगारीको जिम्मेवारी लिनुपर्नेमा उल्टै राज्यले विभेद गरेकाले आन्दोलन गर्न लागेको एक जना कर्मचारी अशोक बुडथापाले जानकारी दिनुभयो । निजी क्षेत्रलाई कर्मचारी ननिकाल्न भन्ने सरकारले आफै कर्मचारी निकाल्नु अन्याय भएको बुडथापाले बताउनुभयो ।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले रोगभन्दा भोक ठूलो रहेको भन्दै नियुक्ति नथपे कडा आन्दोलन गर्ने बताएको छ । अध्यक्ष विमल आचार्यको नेतृत्वमा करारथपको माग गर्दै पत्र बुझाईएको छ । पत्रमा सरकारले श्रम ऐन २०७४ र मौलिक हकको उल्लंघन गरेको आरोप लगाइएको छ ।
तर, पत्र बुझेलगत्तै नेपाल वायुसेवा निगमले भने कोघिड १९ले निगम संकटमा रहेको भन्दै करारका कर्मचारी हटाउनु परेको कारण सार्वजनिक गरेको छ ।(विज्ञप्ती माथि हे.) करार सम्झौता नविकरण नगरेको विषयमा कर्मचारीहरुले दिएको निवेदनमाथि निगमको उपसमितिले दिएको सुझावका आधारमा सम्झौता नविकरण नगरिएको निगमले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७, १४:२५