काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीलाई ध्यानमा राखेर नेपालमा गरिएको लकडाउन एक सय २० दिनपछि पूर्ण रुपले हटाइएको छ ।
एक महिना जति खुकुलो बनाइएको लकडाउन अर्थात् बन्दाबन्दी पूर्ण रुपमा अन्त्य भएसँगै अब हवाई उडान पनि हुने भएको छ । लकडाउन अन्त्यको घोषणा गर्दै सरकारले भदौ एक गतेबाट हवाई उडान गर्न सक्ने निर्णय गरेको छ ।
सरकारको यो निर्णयसँगै वायुसेवा कम्पनीहरू खुशी हुनुका साथै उडानका लागि पनि तयारी अवस्थामा रहेको बताएका छन् । नेपाल वायुसेवा निगमले सामान्य अवस्थामा आन्तरिक तथा बाह्य गरि दिनकै १५ भन्दा बढी उडान गर्दै आएको छ ।
हुन त नेपाल वायुसेवा निगमले लकडाउनमा पनि विभिन्न मुलुकमा अलपत्र परेका र समस्यामा परेका नेपालीलाई स्वदेश फिर्ताका लागि उडान भर्दै आएको छ ।
तर, अब नियमित उडानका लागि सम्पूर्ण तयारी भइसकेकाले आफूहरू उडानका लागि पूर्ण तयारी अवस्थामा रहेको बताउनुहुन्छ, नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्का ।
खड्काले नियमित उडानका लागि सरकारले तोकेको मापदण्ड अनुसार भौतिक दुरी कायम गर्ने, यात्रुलाई चढाउँदा र ओलार्दा स्यानिटाइजर दिने, मास्क सबैलाई अनिवार्य गरिने, विमानभित्र पनि भौतिक दुरी कायम राख्ने लगायतका तयारी पूरा भएको बताउनुभयो ।
आन्तरिक उडानमा पकड जमाएको बुद्ध एयरलाईन्सले सामान्य अवस्थामा दिनकै एक सय ५० भन्दा भढी उडान भर्ने गथ्र्यो ।
लामो समयदेखि जहाज उडाउन नपाएपछि दिनकै ३० देखि ३५ लाख बराबरको व्यय भार व्यहोर्दै आएको थियो । तर, सरकारले उडान सुचारु गर्ने निर्णयले अब विस्तारै समस्या समाधान हुने बुद्धको अनुमान छ ।
बुद्ध एयरलाईन्सका बजार व्यवस्थापक प्रमुख रुपेश जोशीले बन्दाबन्दीका कारण व्यहोर्दै आएको आर्थिक व्ययभार विस्तारै कम हुने र नियमित उडानमा जाँदा सम्पूर्ण यात्रु तथा कर्मचारीको सुरक्षाको ख्याल राखेर तयारी अवस्थामा रहेको बताउनुभयो ।
लकडाउनपछिको उडान कसरी गर्ने भन्ने बारेमा एयरलाईन्सले अभ्यास पनि गरिसकेको भन्दै उहाँले यात्रुको सुरक्षा प्रमुख प्राथमिकता भएका कारण विमानस्थलदेखि विमानमा सवार हुने बेलामा र विमान भित्र यात्रु र विमानका कर्मचारीको सुरक्षाको विषयमा तयारी पूरा गरेको उहाँको भनाइ छ ।
विमानमा चढ्ने समय प्रत्येक यात्रुको ज्वरो नाप्ने, भाइजरको प्रयोग गर्न लगाउने, मास्क अनिवार्य लगाउन दिने, स्यानिटाइजरको प्रयोगका साथै भौतिक दुरी कायम पनि गर्ने गरि विमान उडान गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
सबैभन्दा व्यस्त र एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल लकडाउनको बेला केही समय बन्द भएपनि पछिल्लो एक महिनादेखि निरन्तर उद्दार कार्यका लागि सञ्चालनमा छ । सरकारले अनुमति दिनासाथ उडानका लागि तयारी रहेको विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णको भनाइ छ ।
कर्णका अनुसार विमानस्थल पूर्ण रुपमा उडानका लागि तयारी अवस्थामा छ । कर्ण भन्नुहुन्छ, ‘कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर हामीले विमानस्थलमा भौतिक दुरी कायम गर्नका लागि ३ मिटरको दुरीमा घेरा बनाएका छौं । विमानस्थल प्रवेश गर्दा स्यानिटाइजका लागि स्यानिटाइजिंग टनेल पनि बनाएका छौं र ज्वरो पनि नापिन्छ ।’
‘विमानस्थलमा नियमित उडान सुरु भएपनि कोरोनाको जोखिम यथावतै रहेकाले हामीले त्यसलाई ध्यानमा राखेर मापदण्ड पूरा गरेरै विमान उडान र अवतरणको काम गर्छौ ।’ –कर्णले थप्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित ५६ मध्ये ४९ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । जसमा दैनिक ५ सय आन्तरिक र बाह्य उडान हुँदै आएको थियो । महामारीसँगै उडानका लागि अनुमति पाएपनि सुरुमा ५० प्रतिशत मात्रै उडान गर्ने नागरिक उड्ययन प्राधिकरणको तयारी छ ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले अन्य बेलाको जस्तो सामान्य अवस्था नरहेकाले अहिले नै सबै उडान गर्नु जोखिमयुक्त रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उडानका लागि तयारी अवस्थामा थियौं । सरकारले अन्तिम निर्णय गरिसकेको हुनाले अब नियमित उडान सुरु हुन्छ । तर, पहिलेको जसरी भिडभाड, विमानस्थलमा अनावश्यक भिड गर्न नदिने कुरामा हामी सचेत छौं ।’
जोखिमयुक्त मुलुकलाई केहि समय प्रतिबन्ध लगाएर जुन मुलुकमा कोरोनाको कम जोखिम छ त्यहाँका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर नेपाल प्रवेश गर्ने गरि उडान सुरु गर्नु उचित हुने हुँदा त्यो विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
निजी तथा सरकारी गरि नेपालका १२ भन्दा बढी वायुसेवा निगमहरुले उडानका लागि तयारी अवस्थामा रहेको र कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी मापदण्ड निर्धारण गरिसकेको पनि उहाँले बताउनुभयो ।
कोरोना सङ्क्रमण विस्तारै घट्दै जाँदा, सरकारले लकडाउन अन्त्य गरेको छ र जनजीवन सामान्य हुँदै गएको छ । तर, कोरोना संकटको जोखिम टरी नसकेको भन्दै आन्तरिक उडान सुचारु गरिए पनि बाह्य उडान तत्काल खुलाउनु नहुने विज्ञहरूको मत छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७, १२:२६