प्रदेशका कतिपय ठाउँमा अनलाईन कक्षा प्रभावकारी नदेखिएका कारण कोरोना सङ्क्रमण नभएका स्थानमा पठनपाठन सुचारु गर्न लागिएको बताउनुभयो ।
काठमाडौं । प्रदेश नम्बर दुई सरकारले भदौ १ गते देखि विद्यालय खोल्ने कक्षा सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालेको छ । त्यसका लागि स्थानीय सरकारसँग परामर्श र समन्वय भईरहेको प्रदेश सरकारले जनाएको छ ।
सीआईएनले गरेको, प्रदेश सरकारसँग कोविड सम्बाद कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विद्यालयमा रहेका क्वारेन्टाईन साउन भित्रमा हटाईसक्ने र निसङ्क्रमण गरेर भदौ देखि पठनपाठन शुरु गर्ने विषयमा छलफल भईरहेको बताउनुभयो ।
उहाँले प्रदेशका कतिपय ठाउँमा अनलाईन कक्षा प्रभावकारी नदेखिएका कारण कोरोना सङ्क्रमण नभएका स्थानमा पठनपाठन सुचारु गर्न लागिएको बताउनुभयो ।
मन्त्री यादवलाई प्रदेश दुईका विभिन्न जिल्लाका बालबालिकाले क्वारेन्टाईन बालमैत्री नभएको, बालविवाह बढेको, बालश्रम शोषण नरोकिएको भन्दै प्रश्न गरेका थिए । जवाफमा मन्त्री यादवले क्वारेन्टाईन व्यवस्थापनमा भएको कमजोरी स्वीकार्दै, आगामी दिनमा सुधार गरिने बताउनुभयो । त्यसका लागि स्थानीय सरकारसँग प्रदेश सरकारले समन्वय गर्ने उहाँको भनाई छ ।
साथै बालविवाह र बालश्रम शोषणको अन्त्यका लागि प्रदेश नम्बर २ सरकार गम्भीर रहेको पनि उहाँले बताउनुभयो । बालविवाहको विषयमा प्रदेश सरकारले कुनै सम्झौता नगर्ने उल्लेख गर्दै विगतमा बालविवाहमा संलग्न जनप्रतिनिधीलाई समेत कारबाही गरेको नजिर रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री यादवको भनाई छ ।
बालअधिकार सुनिश्चित गर्न प्रदेश सरकारले कानुन निर्माणको काम समेत गरिरहेको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण प्रभावित बनेका बालबालिकाको विषयमा सरकार गम्भीर रहेको र स्थानीय सरकारसँग मिलेर उनीहरुको हितमा काम गरिहेको मन्त्री यादवको भनाई छ ।
प्रदेश २ को महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जयनुल राईनले साउन महिना भित्रै बालबालिकाको अधिकार सम्बन्धी विधेयक ल्याउने तयारी भईरहेको बताउनुभयो । जुन विधेयक अहिले समितिमा छलफलको क्रममा छ ।
स्थानीय सरकार प्रमूखहरुले भने कोरोना नियन्त्रण, रोकथाम र बालअधिकार संरक्षणको विषयमा प्रदेश सरकारसँग ठोस समन्वय हुन नसकेको बताएका छन् । विरगञ्ज महानगरपालिका प्रमूख विजय सराबगीले स्थानीय तहले आफ्नै पहलमा कोरोना नियन्त्रण र रोकथामको काम गर्न परेको गुनासो गर्नुभयो । यद्यपी बालअधिकारको विषयमा स्थानीय सरकारहरु गम्भीर रहेका त्यसै अनुसार बजेट र कार्यक्रम ल्याईएको पनि उहाँको भनाई छ ।
जनकपुर उपमहानगरपालिका प्रमूख लाल किशोर साहले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका विषयमा आफुहरु गम्भीर रहेको बताउनुभयो । नेपाल नगरपालिका संघका उपमहासचिब समेत रहनुभएका साहले सबै नगरपालिकासँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो ।
छलफल क्रममा प्रदेश नम्बर २ मा मानव अधिकार र बालअधिकारको अवस्था कमजोर रहेको भन्दै सहभागीहरुले प्रश्न उठाएका थिए । प्रदेश २ मा लकडाउनको शुरुको दूई महिनाको अवधीमा ४६ वटा बलात्कारका घटना, दुईवटा बालविवाह, ७८ वटा घरेलु हिंसाका घटना भएको मानवअधिकारको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७, १५:५५