काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताउनुभएको छ ।
मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँचदिनपछि स्वाब सङ्कलन गरेर कोरोना परीक्षणको काम भइरहेको जानकारी दिनुभयो ।
उहाँले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका सबैजसो कदम विज्ञहरूको सल्लाह र सुझावमै भइरहेको बताउनुभयो । विज्ञहरूबाट समेत सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले होस्टेमा हैँसे गर्नुपर्ने उहाँको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रका विज्ञसँग भएको छलफलमा मन्त्री ढकालले लकडाउन खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगादन गर्नुपर्ने धारणा राख्नुभयो ।
छलफलमा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले नेपालमा कोरोना समुदायमा नफलिएको भन्दै खास ठाउँमा देखिएको सङ्क्रमणलाई समुदायको भन्न नमिल्ने बताउनुभयो ।
विकसित देशको भन्दा राम्रोसँग कोरोनाको निन्यत्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने सुझाव उहाँले दिनुभयो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवना कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा सङ्क्रमण हुनबाट जोगाउनुपर्ने बताउनुभयो ।
जनस्वास्थ्यविद् डा सुजन मरहठ्ठाले कोरोनाको व्यपकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिनुभयो ।
नेपाल मेडिकल एसोसियनका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यकर्मीलाई अहिले महामारीबाट जोगाउनका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
भाइरोलोजिष्ट डा समिरमणि दीक्षितले कोरोना भाइरसको डर कम गर्न नमूनाहरूको परीक्षण बढाउनुपर्ने र जिन सिक्वेन्सिङ गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि पर्याप्त नमूनाहरू दिएर सहोग गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७, ०९:२५