काठमाडौँ । पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय ११ वर्ष घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासको फैसला पुनरावलोकन हुने भएको छ ।
आज न्यायाधीश त्रय बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अघि बढाउन अनुमति दिने आदेश सुनाएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले सीआईएनसँग बताउनुभयो ।
२०६८ सालमा पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएका थिए ।
तर प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि सर्वोच्चको फैसलालाई आधार मान्दै ३ दिनअघी कोइरालालाई रिहा गरिएको छ ।
सर्वोच्चको फैसलामा असहमति जनाउँदै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन दर्ता गरेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७, १४:३२